काठमाडौं, ३० मंसिर । गृह मन्त्रालयले उखुको पैसा भुक्तानी नगर्ने चिनी उद्योगीहरुलाई पक्राउ गर्ने निर्णय गरेको छ । उखु किसानहरु आफूहरुले उत्पादन गरेको उखुको रकम ४ बर्षसम्म पनि भुक्तानी नपाएको भन्दै आइतबारबाट माइती घरमा प्रदर्शन गरिरहेका छन् ।
सोही बिषयमा निर्णय गर्न मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले किसानहरुको उखुको रकम भुक्तानी नगर्ने उद्यागीहरुलाई पक्राउ गर्ने निर्णय गरेको गृह स्रोतले जनाएको छ ।
मंगलबार गृहमन्त्रालयमा बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल, कृषि मन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी, मन्त्रालयका सचिवहरु तथा नेपाल प्रहरीका एकजना एआइजीको सहभागीता रहेको बताइएको छ ।
उता रकम भुक्तानी नपाएका किसानहरुले आजपनि माइती घरमा प्रदर्शन जारी राखेका छन् । उनीहरुले सम्झौता अनुसारको रकम नपाएको र गत बर्ष सरकारसँग भएकाे सहमती कार्यान्वयन नभएकाे गुनासो गरेका छन् ।
सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई उद्योगीहरुले काठमाडौंमा प्रदर्शन गर्न आउनेहरु वास्तविक उखु किसान नभएको बताएका थिए । त्यसपछि उनीहरु आज पाउनु पर्ने बाँकी रकमको रसिद सहित प्रदर्शनमा उत्रिइरहेका छन् ।स्रोत:न्युज२४