तारा आचार्य
विराटनगर, १ पुस । नयाँ भवन निर्माण गर्न साइट क्लियर नभएका कारण विराटनगरस्थित कोशी अस्पतालको इमरजेन्सी र आइसियु भवनको निर्माण कार्य सुरु हुन सकेको छैन ।कानूनी व्यवस्था अनुसार साइट क्लियर नभए सम्म निर्माण प्रक्रिया सुरु गर्न नपाइने भएकाले अहिले सम्म ठेक्का लाग्न नसकेको कोशी अस्पतालले जनाएको छ ।
संघीय सरकारको करिब ४४ करोड रुपैयाँ लागतमा साढे ६ तले इमरजेन्सी र आक्ष्सियु भवन निर्माण गर्न लागिएको हो । यसै आर्थिक वर्षभित्र निर्माण प्रक्रिया सुरु नगरिए बजेट फ्रीज हुने भएकाले साइट क्लियर गर्ने कार्य भइरहेको भए पनि ढिलाई भएको कोशी अस्पतालका मेडिकल सुपरटेन्डेन डा. चुमनलाल दासले जानकारी दिनुभयो ।
करिब साढे ३७ मिटर चौडाइ र ८५ मिटर लम्बाईको भवनका लागि कोशी अस्पतालले आफ्नो पुरानो भवन भत्काइ सकेको छ भने नेपाल क्षयरोग निवारण संस्थाको भवन भत्काउने प्रक्रिया सुरु गरेकेो छ ।
तर कोशी अस्पतालको हाताभित्र रहेको नेपाल क्षयरोग निवारण संस्थाले उच्च अदालत विराटनगरमा भवन भत्काउने प्रक्रिया रोक्न रिट निवेदन दिएकाले अदालतको आदेश कुरिरहेको कोशी अस्पतालका मेडिकल सुपरटेन्डेन डा.चुमनलाल दासले जानकारी दिनुभयो ।
उहाँले नयाँ भवन बनाउनको योजना लिएर पुरानो भवन भत्तकाउने कार्य सुरु गरिएको भएपनि अदालतको आदेश नआएकाले काममा अवरोध आएको बताउनु भयो ।