२०७७ पुष ३
सिरहा । यी बालक हुन् रामपुजन सदाय । तीन वर्षका यी बालकको शारीरिक अवस्था आफ्नो उमेर समूहका अन्य बालबालिकाको भन्दा भिन्न छ ।
डाक्टरहरु यी बालकलाई कुपोषणको समस्या रहेको बताउँछन् । यसका बाबजुद गरिबीसँग जुधिरहेको उनका परिवारले पोषिलो खानाको प्रवन्ध गर्न सकिरहेका छैनन्, जसले गर्दा उनको शारीरिक विकासमा समस्या देखिएको छ ।
सिरहाको भगवानपुर गाउँपालिका–५, लालपुरका दीपेन्द्र सदाय र रुकमणी सदायका सन्तान रामपुजन जन्मदा सामान्य अवस्थाकै थिए । तर जबजब उमेर बढ्दै गयो, उनमा समस्या देखिन थाल्यो ।
हिँडडुल गर्न नसक्ने, यहाँसम्म कि कोल्टोसमेत फेर्न नसक्ने अवस्थामा उनी पुगे । रामपुजनका बुवा दीपन्द्र सदाय भन्छन्, ‘उमेर बढेसँगै सबै कुरा ठिक हुँदै जान्छ भन्ने लागेको थियो तर उसको शारीरिक विकास नै भएन ।’
गाउँकै अस्पतालमा जँचाउन लग्दा चिकित्सकले कुपोषणको समस्या देखाएको उनले सुनाए । त्यसपछि चिकित्सकले नै लिटोको पिठो दिएर पठाएको र आफूहरुले लिटो खुवाए पनि समस्या समाधान हुन नसकेको उनको भनाइ छ ।
बच्चा यस्तो जन्मनुमा गर्भवती अवस्थामा आमाले पनि पौष्टिक आहार खान नपाउनु मुख्य कारण हुन सक्ने रुकमणीकी सासुआमाले बताइन् । ‘पेटमा बच्चा हुँदा हामीले बच्चाको आमालाई पेटभरी खाना पनि खुवाउन सकेनौं,’ उनले भनिन्, ‘घरको अवस्था यस्तो थियो, कि राति खाएपछि दिनमा के खाने भन्ने समस्या थियो, सायद त्यतिबेला बच्चाको आमालाई पोषिलो खाना खान दिएको भए बच्चाको यस्तो अवस्था हुने थिएन कि !’
तराई मधेसमा गरिबीको मार झेलिरहेका कयौं परिवारमा गर्भवतीलाई पोषिलो खानेकुराको प्रवन्ध हुँदैन । बालबालिकालाई पनि पोषिलो खाना खुवाउन नसक्दा कयौं बालबालिका कुपोषणको सिकार हुने गरेका छन् ।