२०७७ पुष १७ गते
विराटनगर : नेपालमा अंग्रेजी नयाँ वर्ष मनाउन भन्दै प्रतिबन्धित नोट बोकेर अवैध रुपमा नेपाल छिरेका एक भारतीय युवा विराटनगरबाट बिहीबार साँझ पक्राउ परेका छन्। अवैध भारतीय रुपैयाँ (भारु) बोकेर नेपाल प्रवेश गर्दैगर्दा नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट भारतीय नागरिक २५ वर्षीय सुजित कुमार पक्राउ परेका हुन्।
कोरोना महामारीका कारण दुवै देशमा आवतजावत बन्द गर्दै नाका शिल गरिएको अवस्थामा प्रतिबन्धित नोट बोकेर नेपाल छिरेको पाइएपछि भारत अररीयाका सुजितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए।
सुजितको साथबाट प्रहरीले पाँच सय दरका एक सय चारवटा अवैध भारतीय नोट फेला पारेको छ। प्रनि थापाले जम्मा ५२ हजार भारतीय रुपैयाँ सुजितबाट बरामद भएको पुष्टि गरे।
नेपालमा पाँच सय दरमाथिका भारतीय नोट बोक्न प्रतिबन्ध लगाइएको छ। प्रतिबन्धित नोट साथमा बोकेर अवैध रुपमा नेपाल प्रवेश गरेको भेटिएका कारण साँझ ५ बजेतिर पक्राउ गरिएका सुजितलाई आवश्यक कारबाहीका लागि शुक्रबार विराटनगर भन्सार कार्यालयमा बुझाइने जानकारी प्रनि थापाले दिए।
पक्राउ परेका युवाले भने आफू नयाँ वर्ष मनाउन पैसा बोकेर नेपाल आएको बताएका छन्। उनले घुमफिरका लागि पोखरासम्म पुग्ने योजना रहेको पनि प्रहरीलाई सुनाएका छन्। तर कोरोना भाइरस सङ्क्रमणका कारण नेपाल–भारत सीमा नाका लामो समयदेखि शिल छ।
दुवै देशमा आवतजावत गर्न पूर्ण रुपमा रोक लगाउँदै नाका शिल गरिएको अवस्थामा प्रतिबन्धित नोट बोकेर भारतीय युवा नेपाल छिरेका हुन्। प्रहरीले भने नाका सिल भएको अवस्थामा नयाँ वर्षमा घुमफिर गर्ने बाहना बनाउँदै अवैध हुन्डी कारोबारको पैसा बोकेर उनी नेपाल आएको हुनसक्ने आशंका गरेको छ।