२०७७ पुष १७ गते
बेनी : म्याग्दीको अन्नपूर्ण –४ नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत आयोजना निर्माण सकिएको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रर्वद्धक रहेको मिस्ट्रीको बाँध, सुरुङ, क्यानल निर्माण, पेनस्टक पाइप र पावरहाउसमा उपकरण जडान सकिएको हो । निर्मित संरचना र जडान भएका उपकरणको परिक्षण सुरु गरिएको आयोजनाको परामर्शदाता इञ्जिनियर दिवाकर खड्काले बताए ।
'संरचना बनाउने र उपकरण जोड्ने काम सकिएको छ, 'उनले भने, 'बनाएका र जोडिएका संरचना ठिक भए नभएको परिक्षणको चरणमा छौ ।’ बाँधको यसअघिनै परिक्षण भइसकेको छ । सुरुङ, क्यानल र पेनस्टकको परिक्षणका लागि कार्यतालिका बनाएको छ ।
त्यसपछि बिद्युतगृहको परिक्षण गरिने इञ्जिनियर खड्काले बताए । सन २०१६ को जुन १३ मा सुरु भएको आयोजनाको दुई हजार २७०.५ मिटर सुरुङको २०७६ बैशाखमा ब्रेक थ्रु भएको थियो । नारच्याङको बेशीगाउँ स्थित कालीगण्डकी नदीको बायाँ किनारमा विद्युतगृह निर्माण गरेको छ । निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएको छ । बिद्युतगृह नजिकै स्विचार्ड निर्माण भएको छ । बेशीगाउँदेखि दाना स्थित २२० केभी क्षमताको सबस्टेशनसम्म प्रशारण लाइन निर्माण भएको छ ।
११५ मिटर लम्बाई, ८.५ मिटर चौडाई र १३ मिटर गहिराइ भएको २ वटा भूमिगत बालुवा थिग्राउने पोखरी (क्यानल) बनाएको छ । आउटलेटदेखि बाँधसम्म एक हजार ५०० मिटर दुई मिटर गोलाइको पेन स्टक पाइप जडान भएको छ ।
आगामी जनवरी १५ भित्र परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य राखिएको आयोजनाका प्रतिनिधि चुडामणी निरौलाले बताए । ‘कार्यतालिका अनुसार कुनै समस्या आएन भने जनवरी १५ भित्र परिक्षण उत्पादन हुन्छ,’ उनले भने ‘पूर्वाधार निर्माण सकेर परीक्षणको चरणमा छौं ।'
पाँच अरब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा प्रर्वद्धक बाहेक नेपाल इन्भेष्टमेन्ट बैङ्कले ७० करोड, जलविद्युत विकास कम्पनीले एक अरब र नेपाल बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।
यसैगरी नविल बैंकले एक अरब, लक्ष्मी बैंकले ४० करोड, सिद्धार्थ बैंकले ३० करोड र एस डेभलभमेन्ट बैंकले ३० करोड ऋण लगानी रहेको छ । आयोजना निर्माण स्थल नारच्याङका बासिन्दालाई सात लाख तीन हजार ५१२ र प्रभावित क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकाका अन्य ७ वटा वडाका बासिन्दाहरुलाई दश लाख कित्ता सेयर बाँडफाड गरिएको छ ।
साधारण सेयर पनि बाडफाँड भइसकेको छ । विद्युत विकास विभागले २०६४ मा जनेरेशन लाइसेन्स (निर्माण अनुमति) दिएको थियो । नेपाल विद्युत प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रशारण लाइन र दाना सब स्टेशन बनाउन ढिलाई गर्दा आयोजना नौ वर्ष पछि धकेलिएको हो ।
मिस्ट्रीखोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधिन अवस्थामा रहेका मध्य सबैभन्दा ठूलो आयोजना हो । नारच्याङमा २ मेगावाट क्षमत्ताको तातोपानी साना जलविद्युत आयोजना सञ्चालनमा छ । ५ मेगावाटको घलेम्दीखोलाले गत माघ महिनादेखि उत्पादन सुरु गरेको छ ।
अन्नपूर्ण–३ दाना देखि पर्वतको खुर्कोट जोड्ने ३९ किलोमिटर दुरीको २२० केभी क्षमताको बिद्युत प्रशारण लाइन निर्माण सकिएको छ दाना र खुर्कोटमा सब स्टेशनका साथै प्रशारण लाइन निर्माण सकेर आन्तरिक परिक्षण सुरु गरेको आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताए ।
टावर ठडाउने, तार तान्ने र सबस्टेशनको उपकरण जडान सकिएको छ । प्रशारण लाइन र सबस्टेशनको पनि परिक्षण सुरु भएको छ । बिद्युत बिकास बिभागका अनुसार म्याग्दी जिल्लाभर ७००.८३ मेगावाट क्षमताका १७ जलविद्युत आयोजनाले निर्माणको अनुमति लिएका छन् । ३५३.८ मेगावाट क्षमताका ११ वटा आयोजना निर्माणाधिन अवस्थामा छन् ।
३४६.०३ मेगावाट क्षमताका ६ वटा जलविद्युत आयोजना निर्माणको तयारी र प्रक्रियामा छन् । पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजनाले उत्पादन सुरु गरेको छ । ८३.५ मेगावाट क्षमताका तीनवटा जलविद्युत आयोजनाले निर्माणका लागि अनुमति मागेका छन् । जिल्लाभर १४०.१३ मेगावाट क्षमताका १४ वटा जलविद्युत आयोजना सर्बेक्षणको क्रममा रहेका विभागले जनाएको छ ।