२०७७ माघ २९ गते
इनरुवा । राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका अनुसन्धान उप–निर्देशक (एसपी) नगेन्द्र दाहालको फेसबुक ह्याक भएको छ । दाहालको आईडी ह्याक गरी ह्याकरले मोबाइल बैंकिङको माध्यमबाट ठगी समेत गरेको पाइएको छ ।
ह्याकरले दाहालको फेसबुक म्यासेन्जरबाट म्यासेज गरी पत्रकारसँग रकम माग गरेको पाइएपछि सो विषय बाहिरिन पुगेको छ । नगेन्द्र दाहालको आईडीबाट पत्रकार अमर काफ्लेको म्यासेन्जरमा प्राप्त म्यासेजमा एघार हजार एक सय रुपैंया साँझसम्म फिर्ता गर्ने भनि पठाउन भनिएको थियो ।
उक्त म्यासेट चाटमा संगत आङबुहाङको नाममा नबिल बैंकको ०१६१००१७५१३६०६ खाता नम्बरमा रकम पठाउन भनिएको छ । रकम पठाएको फोटो समेत पठाउन भनिएको थियो ।
उक्त म्यासेजको विषयमा एपसी दाहालसँग फोन गरी बुझ्दा उनले आफूले कोही कसैलाई सो व्यहोराको म्यासेज नपठाएको भन्दै आफ्नो फेसबुक ह्याक भएको हुन सक्ने आशंका जताएका थिए ।
त्यसलगत्तै स्वयं एसपी दाहालले सामाजिक सञ्जालमा आफ्नो फेसबुक ह्याक भएको व्यहोरा उल्लेखित स्टाटस अपलोड गर्दै फोन सम्पर्क गर्नुहोला भनि पोष्ट गरेका छन् ।
अनुसन्धान उप–निर्देशक (एसपी) दाहालले ह्याकरको खोजी थालिएको बताए । उनले यस अघि पनि सो किसिमका घटना बाहिरिएकाले गिरोहनै सकृय रहेको हुन सक्ने बताए । एसपी दाहालको आईडीबाट मोबाइल बैंकिङमार्फत् रकम माग गरेको भरमा कही व्यक्ति ठगीमा समेत परिसकेको पाइएको छ ।
दाहालले कोही कसैलाई म्यासेजको भरमा परी रकम नपठाउन भनेका छन् । उनले शंका लागेमा आफूलाई सम्पर्क गरी जानकारी गराउन आग्रह गरेका छन् ।
स्रोत : न्युज२४