२०७७ माघ ३० गते
एजेन्सी,
बेइजिङ : चीनमा बीबीसीको प्रसारणमा प्रतिबन्ध लागेको छ। चिनियाँ सरकारले बीबीसीको प्रसारणमा प्रतिबन्ध लगाएसँगै त्यहाँ बीबीसी बन्द भएको हो।
बिहीबार चिनियाँ टेलिभिजन तथा रेडियो सम्बन्धी नियामक निकायले बीबीसीको प्रसारणमा प्रतिबन्ध लगाएको जनाएको छ । बीबीसीले प्रसारण गरेको सामग्रीले चीनमा जातीय खलल पुर्याएको भन्दै चीनले प्रसारणमा रोक लगाएको हो ।
कोरोनाभाइरस महामारी र आदिवासी उइगर अल्पसङ्ख्यकका बारे बीबीसीले चीन सरकारको आलोचना गर्दै सामग्री प्रसारण गरेको थियो।
बीबीसीले चिनियाँ सरकारको निर्णयबाट "निराश" भएको प्रतिक्रिया दिएको छ।
सञ्चारमाध्यमसम्बन्धी ब्रिटिश नियामक निकाय अफकमले यूकेमा चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) को प्रसारण अनुमति खारेज गरेपछि चीनले पछिल्लो कदम चालेको हो।