NarayaniPost.com
सोमवार, साउन १, २०८०

उत्पादित विद्युत् खेर, उपभोक्ता भने लाेडसेडिङकाे मारमा

नारायणी पोस्ट
शुक्रबार, माघ ३०, २०७७

२०७७ माघ ३० गते

हिमाली जिल्ला सोलुखुम्बुमा विगत दुई महिनायता भइरहेको विद्युत् कटौतीले उपभोक्ता मारमा परेका छन् ।

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा विगत दुई महिनायता भइरहेको विद्युत् कटौतीले उपभोक्ता मारमा परेका छन् । दैनिकजसो विद्युत् अनियमितताका कारण यहाँका उपभोक्तालाई निकै हैरानी हुन थालेको बताइएको छ । पूर्व सूचनाबिना विद्युत् कार्यालयले पटकपटक विद्युत् कटौती गर्न थालेपछि स्थानीयवासी आक्रोशित हुन थालेका छन् । विद्युत् अनियमितका कारण त्यहाँका आम उपभोक्तदेखि व्यवसायी बढी मारमा परेको बताइएको छ ।

“दैनिक विद्युत् अनियमितताका कारण मिल व्यवसायी र हामी बढी मारमा परेका छौँ”, स्थानीयवासी गेहेन्द्र राईले भने, “मिनेटमिनेटमा बिजुली बत्ती आउने र जाने समस्याले स्थानीयवासीले दुःख पाइरहेको छ । यस सम्बन्धी गुनासो विद्युत् प्राधिकरणमा खबर गर्दा पनि सुनुवाइ नभएको उहाँको भनाइ छ । साँझ र बिहानपख तालीकाबिना लोडसेडिङ हुँदा घरेलु उपभोक्ता बढी समस्यामा परेका छन् ।

अत्यधिक चिसोका कारण त्यसबाट बच्नका लागि यहाँका गाउँवासीले दाउराको प्रयोग गर्छन भने सदरमुकामवासीले विद्युतीय हिटरको प्रयोग गर्छन् । पुस, माघ महिनाको चिसोबाट बच्नका लागि सरकारी कार्यालयका कार्मचारीलेसमेत विद्युतीय हिटरको प्रयोग गर्नु बाध्यता नै हो । समयको परिवर्तनसँगै सदरमुकामवासीले दाउराको एकदमै कम प्रयोग गर्ने गरेका छन् । जिल्लामा विद्युत्को खपत बढेसँगै सल्लेरी च्याल्सा विद्युत् कम्पनीको सेवासमेत अनियमित बनेको छ । क्षमताभन्दा बढी खपत हुन थालेपछि बारम्बार विद्युत् सेवा अवरुद्ध हुने गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका रामेश्वर मास्केका अनुसार चिसोमा विद्युतीय सामग्रीको बढी प्रयोग हुँदा मेसिन नै बन्द हुने गरेको छ । चिसोबाट बच्नका लागि उपभोक्ताले हिटरको प्रयोग बढी गर्दा लोड धान्न नसकेको उनको भनाइ छ । सोलुदूधकुण्ड नगरपालिकाको वडा नं ४, ५, ६ र ७ का करीब दुई हजार १०० बढी उपभोक्ताले दैनिक तीन घण्टा विद्युत्भार कटौतीको मार खेप्नुपरे पनि अन्य समयमा समेत आपूर्ति बन्द हुँदा समस्या भएको स्थानीयवासीको भनाइ छ ।

विद्युत् आउने जाने हुँदा होटल÷पसल सञ्चालकदेखि जिल्ला अस्पतालको सेवासमेत प्रभावित हुने गरेको छ । विद्युत् कटौतीको तालिकाबाहेक पनि दिनभरजसो विद्युत् सेवा बन्द हुँदा जिल्ला अस्पताल फाप्लुको प्रयोगशाला सेवासमेत प्रभावित बन्ने गरेको अस्पतालकी निमित्त प्रमुख शानी शेर्पाले बताए । अस्पतालमा व्याकपकोसमेत राम्रो प्रबन्ध नभएको हुँदा ल्याब सेवा नै ठप्प बन्ने गरेको उनको भनाइ छ । उनका अनुसार अस्पतालमा वैकल्पिक विद्युत्को व्यवस्था नहुँदा ल्याब र अक्सिजन सेवासमेत प्रभावित बनेको छ । उपकरण सञ्चालनका लागि च्याल्सा विद्युत् कम्पनीकै भरपर्ने अस्पतालमा असहज हुने गरेको बिरामी नानुमाया कार्कीले बताए ।

बारम्बार विद्युत् अवरुद्ध हुँदा विद्युतीय सामग्रीसमेत चाँडै बिग्रने समस्या रहेको गेहेन्द्र मोबाइल पसलका सञ्चालक गेहेन्द्र राईको भनाइ छ । कम्प्युटरको पावर सप्लाइ चाँडै बिग्रने समस्याले हैरान बनेको उहाँले बताउनुभयो । यस्तै सल्लेरीमा सञ्चालित टेलरिङ सेन्टरसमेत विद्युत्मा भर पर्दा समस्या भएको पसल सञ्चालकको भनाइ छ । ए वान टेलरिङ सेन्टर सल्लेरीका प्रोपाइटर विक्रम हिङमाङले ग्राहकलाई समयमा नै सेवा दिन नसक्दा गाली खानुको विकल्प नभएको बताए । कपडा सिलाइका लागि निश्चित समय तोकेर पठाएका ग्राहकलाई भनेको बेला उपलब्ध गराउन नसक्दा ग्राहकसमेत रिसाउने गरेको समस्या रहेको हिङमाङको भनाइ छ ।

विद्युत् अनियमितताका कारण एफएम रेडियो तथा पत्रपत्रिका पनि समयमा प्रकाशन तथा प्रशारण हुन नसकेको स्थानीय पत्रकारको भनाइ छ । पछिल्लो समय विद्युत् अनियमितका कारण व्यवसायी, बैंक, सहकारी, गैरसरकारी कार्यालयका काम कारवाहीमा असर पुगेको बताइएको छ । कम्पनीका अनुसार चिसोले गर्दा विद्युत्को माग बढी तथा उत्पादन कम भएका कारण विद्युत् अनियमितता भएको र यो समस्या चाँडै समाधान हुनेछ ।

उत्पादित विद्युत् उपभोगबाट सोलुवासी वञ्चित

सदरमुकाम नजिकैबाट बग्ने सोलुखोलामा उत्पादित विद्युत्बाट बञ्चित बनेका सल्लेरीवासी दैनिक तीन घण्टा विद्युत् भार कटौती खेप्न बाध्य बनेका छन् । सोलु खोलामा मात्रै पाँच वटा हाइड्रोपावर निर्माणाधीन अवस्थामा छ भने माथिल्लो सोलु खोला २३ दशमलव पाँच मेगावाटले उत्पादन नै शुरु गरेका छन् । बेनी हाइड्रोपावर, तल्लो सोलु खोला जलविद्युत् आयोजना र सोलु खोला दूधकोशी जलविद्युत् आयोजनाको काम ६० प्रतिशतदेखि ९० प्रतिशतसम्म सम्पन्न भइसकेको सम्बन्धित कम्पनीले जनाएको छ ।

माथिल्लो सोलु खोला जलविद्युत् आयोजना २३ दशमलव पाँच मेगावाटलेसमेत सोलु करिडोर १३२ केभी प्रशारण लाइनको काम समयमा नै सम्पन्न नहुँदा क्षमताअनुसार उत्पादन गर्न नसकेको आयोजनाका जनसम्पर्क अधिकृत बद्रीमाण श्रेष्ठले बताए। नेपाल विद्युत् प्राधिकरणको ११ केभी प्रशारण लाइनमार्फत करीब पाँच मेगावाट विद्युत् तिङ्ला सवस्टेशनबाट रुम्जारटार सवस्टेशनमा जोडिएको उहाँको भनाइ छ । पाँच पटक म्याद थप गरेको सोलु करिडोरको काम अझै केही महिना लाग्ने आयोजना प्रमुख जनार्दन शर्माले बताउनुभयो । करिडोरकै कारण एकातिर उत्पादित विद्युत् खेर गएको छ भने अर्कोतिर सोलुवासी भने अन्धकारमा बस्न बाध्य छन् ।

नेपाल विद्युत् प्राधिकरणको सवस्टेशन तिङ्लादेखि बेलीडाँडा हुँदै अप्पर सोलु हाइड्रो पावर कम्पनीको ११ केभी पोलमा जडान गरी सल्लेरी च्याल्सा विद्युत् कम्पनीको पावर हाउसमा विद्युत् ल्याएपछि विद्युत् भार कटौती अन्त्य गर्ने योजना भए पनि सम्बन्धित कम्पनीले समयमा नै काम शुरु गर्न नसकेको सोलु दूधकुण्ड नगरपालिका– ७ का वडाध्यक्ष लालमान श्रेष्ठले बताउनुभयो । तिङ्ला सवस्टेशनदेखि सल्लेरी च्याल्सा विद्युत् कम्पनीसम्म विद्युत् लाइन विस्तारका लागि सिग्मा कोण प्रालीले गत वर्ष नै जिम्मा पाएको भए पनि निर्माण सम्पन्न गर्नुपर्ने कार्यावधि दुई महिना बाँकी हुँदासमेत काम शुरु नगरेको भन्दै सोलु दूधकुण्ड नगरपालिका–६ का वडाध्यक्ष रामकुमार श्रेष्ठले तत्काल काम अगाडि बढाउन निर्देशन दिएको बताए ।

तोकिएको समयमा काम सम्पन्न गरी उज्यालो अभियानलाई अघि बढाउन कुनै पनि समस्या आएमा आफूहरु समाधान गर्न तयार रहे पनि निर्माण कम्पनीले समन्वय नगरेको उनको भनाइ छ । सोलुखुम्बुलाई राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएको करीब एक वर्ष पूरा भएको छ । सोलु दूधकुण्ड नगरपालिका वडा नं ८ र ११ का केही घरधुरीबाहेकमा विद्युत् विस्तारको काम धमाधम भइरहेको विद्युत् प्राधिकरण वितरण केन्द्र सोलुखुम्बुले जनाएको छ । 

सल्लेरी च्याल्साको प्रतिबद्धता पूरा भएन

नेपालको राजधानी काठमाडौँमै १८ घण्टासम्म विद्युत् भार कटौती हुने गरेको थियो । तर २०७५ वैशाख ३१ गते देशलाई विद्युत्भार कटौतीमुक्त घोषणा गरियो । विद्युत्भार कटौतीको अन्त्य भएपछि नेपालीको मुहारमा खुशियाली छाए पनि सोलुखुम्बुवासीका लागि त्यो खुशीले छुन सकेन । 

जिल्लामा उत्पादित सयौँ किलोवाट विद्युत् खेर जाने भए पनि उपभोक्ता भने अन्धकारमा बस्न बाध्य हुनु दुःखद् भएको सोलु दूधकुण्ड नगरपालिका– ११ का प्रेम बस्नेतले बताउनुभयो । सल्लेरी च्याल्सा विद्युत्को सेवाबाट दिक्क बनेका उपभोक्ताले कार्यालय परिसरमा पुगेर सेवा गुणस्तरीयताका सम्बन्धमा नारा जुलुस नै गरे । राष्ट्रलाई विद्युत्भार कटौती बनाइएको अवस्थामा समेत यहाँका उपभोक्ताले दैनिक तीन घण्टाभन्दा बढी अध्याँरोमा बस्नुपर्ने बाध्यता हटाउने भन्दै जनप्रतिनिधिले बारम्बार आश्वसन नदिएको पनि होइन ।    
आश्वसनले मख्ख परेका उपभोक्ताको धैर्यताको बाँध टुटेको भन्दै यही पुस २७ र २८ गते सोलु दूधकुण्ड नगरपालिका वडा नं ७ र ८ का वडाध्यक्षसहित सयौँ उपभोक्ताले सल्लेरी च्याल्सा विद्युत् कम्पनी उपभोक्ता समितिको ध्यानाकर्षणसमेत गराए । सञ्चालक समितिले उपभोक्तालाई एक महिनाभित्र विद्युत् भार कटौती अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । तर भारतबाट सामग्री ल्याउन समय लागेको भन्दै कम्पनीका अध्यक्ष डा मिङ्मार ग्याल्जेन शेर्पाले फागुनको पहिलो हप्तादेखि विद्युत् भार कटौती अन्त्य हुने प्रतिबद्धता व्यक्त गरे।

स्रोत : हाम्रोखबर

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram