NarayaniPost.com
बुधबार, असार २७, २०८०

भागरथी हत्या प्रकरणको अनुसन्धान अझै अलमलमा

नारायणी पोस्ट
आइतवार, फाल्गुन २, २०७७

२०७७ फागुन २ गते

काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्याको घटनाका अनुसन्धान अधिकृतहरु अझै अलमलमै छन् ।

अनुसन्धानमा खटिएका अधिकृतहरुका अनुसार संकित व्यक्तिहरुसँगको सोधपुछ र प्राविधिक पक्षको विश्लेषण भइरहेको छ तर, अनुसन्धानले लय समात्न सकेको छैन ।

भट्टको मोबाइल फोनबाट महत्वपूर्ण सुराक हात पर्ने अपेक्षा गरेको प्रहरीको ध्यान अहिले म्यानुअल अनुसन्धानतिरै मोडिएको छ । शव भेटिएको स्थानबाट १० मिटर पर तालिम प्राप्त प्रहरी कुकुरले उनको मोबाइल भेटेको थियो ।

‘भट्टले प्रयोग गर्ने गरेको एनटीसी सीम कार्डको विश्लेषण गरिसकेका छौं, अनुसन्धानमा सहयोगी हुने कुनै क्लू फेला परेको छैन’, अनुसन्धानमा खटिएका एक अधिकृत भन्छन्, ‘भारतीय सीम कार्ड पनि प्रयोग गर्ने गरेको पाइएको छ, त्यसको विवरण मगाउन भारतीय प्रहरीसँग समन्वय भइरहेको छ ।’

प्रहरीका अनुसार मोबाइलबाट केही विवरणसमेत डिलिट गरिएको आशंका गरिएको छ । यद्यपि पुष्टि भइसकेको छैन । यसबारे प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक ल्याबमा परीक्षण भइरहेको प्रहरी बताउँछ ।

प्रहरीले घटना भएको आसपासको समयमा सक्रिय मोबाइल नम्बरहरुको बीटीएस टावरको आधारमा विश्लेषण गरेको थियो । त्यसमा पनि उपलब्धी हात परेको छैन ।

अभियुक्तले मोबाइल बोके/नबोकेको भन्ने निर्क्यौल नभएकाले प्राविधिक पक्षको विश्लेषण कठिन रहेको अधिकृतहरु बताउँछन् । ‘यो क्षेत्रमा जतिसुकै वेला टावर नआउँदो रहेछ, त्यसले पनि समस्यै छ’, अनुसन्धानमा खटिएकाहरु भन्छन् ।

दर्जनौं व्यक्तिसँग सोधपुछ

जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी निरीक्षक जनक धामीका अनुसार घटना भएको आसपासको समयमा सडकमा हिँडेका व्यक्ति र सवारीसाधनका धनीहरुसँग सोधपुछ गरिएको छ । ‘२१ माघ बुधबारदेखि बिहीबारको अवधिमा घटना भएको बाटोबाट हिँडेका थुप्रै व्यक्तिहरुसँग सम्पर्क गरेका छौं’, धामी भन्छन् ।

२१ माघमा विद्यालय गएकी भट्ट साँझसम्म घर नफर्किएपछि परिवारले खोजी थालेको थियो, भोलिपल्ट अपराह्न उनको शव सडकबाट ५० मिटर तल झाडीमा भेटिएको थियो । दार्चुलाबाट बैतडी जाने बाटोबाट भित्री सडक हुँदै भट्टको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा उनको शव भेटिएको हो ।

प्रहरीले, घटनापछि गाउँ छाडेकाहरुको निगरानी बढाएको छ भने केहीसँग सोधपुछ गरिरहेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंह केही व्यक्तिलाई उच्च निगरानीमा राखिएको बताउँछन् । यद्यपि, कोहीविरुद्ध पनि शंका गर्नलाई बलियो आधार भने फेला परिसकेको छैन ।

अपराधी स्थानीय नै हुनसक्ने आशंका

हाल घटनास्थलमा खटिएका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदीका अनुसार घटनामा स्थानीय ठाउँबाट बाहिरका व्यक्ति संलग्न हुनसक्ने आधारहरु हालसम्म फेला परेका छैनन् । चिनजानकै व्यक्तिले निगरानी पश्चात मौका छोपेर हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

तर, यो शंकालाई पुष्टि गर्ने बलियो आधार भेटिएको छैन । मोबाइलको ब्याट्री निकालिनु र विवरणहरु डिलिट गर्न खोज्नुले आफ्नो पहिचान लुकाउन खोजेको देखिएकाले प्रहरीले स्थानीय व्यक्ति नै घटनामा संलग्न हुनसक्ने आशंका गरेको हो । त्यसलाई आधार बनाएर प्रहरी अधिकारीहरुले निगरानी गरिरहेको छ ।

तर स्थानीयबाट पर्याप्त सहयोग प्राप्त नभएको अनुसन्धानमा खटिएका अधिकृतहरु गुनासो गर्छन् । घटना भएको आसपासका क्षेत्रमा कार्की, भट्ट र चन्द थरका मानिसहरुको बाहुल्य छ । ‘बोलाउँदा उहाँहरु आउनु भएको छ तर, खुलेर बोल्न चाहेको देखिँदैन’, अनुसन्धानमा खटिएका एक अधिकृत भन्छन्, ‘विगतमा भएका केही घटनामा प्रहरीले गरेको गलत व्यवहारका कारण पनि यस्तो भएको हुनसक्छ ।’

स्थानीयसँग समन्वयका लागि प्रहरीले विभिन्न व्यक्तिको भेषमा गएर पनि सोधपुछ गरिरहेको स्रोतको दाबी छ ।

घटनामा कति जना संलग्न ?

प्रहरीका अनुसार भट्ट हराएको दिन खाजा खाने समयमा विद्यालयबाट ६ जना साथीहरुसँगै निस्किएकी थिइन् । तर, अरु साथीहरु कोही कपाल काट्नतिर लागे भने अन्य विद्यालय छेउतिरै बसे । भट्ट एक्लै घरतिर हिँडेको साथीहरुले बताएका छन् ।

हालसम्म शव भेटिएको स्थान नजिकै घिसारिएको चिह्न र झाडी मडाडिएको देख्दा शव भेटिएकै स्थान नजिकै घटना भएको हुनसक्ने आशंका गरिएको छ । दिउँसोको समय भएकाले अन्यत्र हत्या गरेर त्यहाँ ल्याउन पनि सहज नभएको प्रहरी अधिकृतहरु बताउँछन् ।

हालसम्मको अनुसन्धानले बलात्कारपछि हत्यामा एक जना मात्र संलग्न थिए वा अन्य पनि भन्ने समेत खुलेको छैन । प्रहरीले घटनामा संलग्न व्यक्ति एक वा एकभन्दा बढी हुन् भन्ने निर्क्यौल गर्न केन्द्रीय विधि विज्ञान प्रयोगशालाकै नतिजा कुरिरहेको छ ।

भट्टको भजाइनल स्वाब सामाखुशीस्थित विधि विज्ञान प्रयोगशालामा पठाइएको छ, त्यहाँबाट स्वाबमा भेटिने पुरुषको वीर्यको आधारमा घटनामा एक जना मात्रै संलग्न हुन् या बढी भन्ने खुल्ने प्रहरी अधिकारीहरु बताउँछन् । यसको रिपोर्ट आउन १५ दिनसम्म लाग्न सक्ने प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुवेदी बताउँछन् ।

कुकुरको संकेत

घटना भएलगत्तै प्रहरीले धनगढीस्थित कुकुर शाखाबाट ट्याकर डग मगाएको थियो । घटनास्थलमा भट्टको कपडा सुघाँएर छाडिएको कुकुर खोचलेक बजारतिर गएको प्रहरी अधिकृतहरु बताउँछन् । एसएसपी सिंह भन्छन्, ‘कुकुरले पनि केही संकेत गरेको छ, हालसम्म खुलेका तथ्यलाई जोडेर विश्लेषण गरिरहेका छौं ।’ उनले चाँडै अनुसन्धान निष्कर्षतर्फ पुग्ने पनि जनाए ।

घटनामा संलग्नलाई प्रहरीले पक्राउ नगरेको भन्दै दैनिक बैतडी, काठमाडौंसहित विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन् । भट्ट हत्या प्रकरणलाई २०७५ साउन १० गते कञ्चनपुरमा भएको निर्मला पन्त बलात्कारपछि हत्या घटनासँग पनि जोडेर हेरिएको छ । र, त्यस्तो नहोस् भनेका छन् ।

तर, गृहमन्त्री रामबहादुर थापा बादलले पनि यो प्रकरण निर्मला पन्त प्रकरण जस्तो जटिल नभएको दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मात्र भट्ट प्रकरणका आरोपीलाई नछाडिने अभिव्यक्ति दिएका छन् ।

स्रोत : अनलाइनखबर

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram