चितवन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले फागुन १२ गते भरतपुरमा जनसभा गर्ने भएको छ। संसद बिघटनको विरोधमा जनप्रदर्शन र जनसभा गर्न लागिएको नेकपा चितवनका नेता तेजेन्द्रबहादुर खड्काले जानकारी दिए। फागुन १२ गते दिउँसो १२ बजे भरतपुर केन्द्रीय बस टर्मिनल परिसरमा जनसभा आयोजना गरिएको नेता खड्काले जानकारी दिए।
सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहितका शीर्ष नेताहरूले सम्वोधन गर्नेछन्। पार्टीका प्रचार विभाग प्रमुख रामचन्द्र अधिकारीका अनुसार जनसभा अघि भरतपुरका विभिन्न ठाउँबाट जुलुस निकालिनेछ।
चौबिसकोठिबाट सुरु हुने जुलुसमा भरतपुर १,२,३,४,१५,१६,१७,१८,१९,२०,२४,२५,२६,२७ र २८ नम्बर वडाका जनसमुदाय सहभागी हुनेछन्। मालपोत चोकबाट सुरु हुने जुलुसमा कालिका नगरपालिका, ईच्छाकामना गाउँपालिका, भरतपुर १०,११,१२ र २९ नम्बर वडावासी सहभागी हुनेछन्।
त्यसैगरी बुद्धचोकबाट सुरु हुने जुलुसमा माडी नगरपालिका, भरतपुर ५,६,७,८,१३,१४,२१,२२ र २३ नम्बर वडाका जनसमुदाय सहभागी हुनेछन्। गोन्द्राङबाट सुरु हुने जुलुसमा राप्ती नगरपालिका, खैरहनि नगरपालिका, रत्ननगर नगरपालिका र भरतपुर ९ का जनसमुदाय सहभागी हुनेछन्।
नेकपा चितवनले मजदूर, युवा, विद्यार्थी, महिला, दलित, सुकुम्बासी, उद्योगी, व्यवसायी, शिक्षक, कर्मचारी, बुद्धिजीवी, समाजसेवी, नागरिक समाजका सबै जनसमुदायमा जुलुस र सभामा सहभागी हुन अपील गरेको छ।