२०७७ फागुन ११ गते
भारतको महाराष्ट्रको उस्मानाबादमा एक महिलालाई आफ्नो पवित्रता प्रमाणित गर्नका लागि बेस्सरी तात्तिएको तेलमा हात हाल्न बाध्य पारियो । भारतीय सञ्चार माध्यमका अनुसार उस्मानाबादको परन्डामा बस्ने महिला ४ दिनसम्म घरबाट गायक थिइन् । जब उनी फिर्ता भइन् तब उनका श्रीमानले नै तातेको तेलमा हात हालेर पाँच भारुको सिक्का निकाल्न भने । यतिमात्रै होइन, श्रीमानले नै आफ्नो मोबाइलबाट घटनाको भिडियो बनाए ।
महिलाका श्रीमान् ड्राइभर हुन् र ११ फेब्रुअरीमा माइती जाने कुरामा यी दुईबीच झगडा भएको थियो । त्यसपछि महिलाले कसैलाई केही नभनी घरबाट उस्मानाबादका लागि निस्किइन् । महिलाका श्रीमानले उनलाई खोजिरहे । चार दिनपछि महिला घर फर्कँदा आफूलाई बाइकमा सवार दुई व्यक्तिले जबरजस्ती आफूसँगै लिएर गएको र चार दिनसम्म बन्धक बनाएको बताइन् ।
पारधी समाजमा छ यस्तो कुप्रथाः
महिला पारधी समुदायकी हुन् । यो समुदायमा वास्तविकता खोल्नका लागि भगवानको नाममा बेस्सरी तात्तिएको तेलबाट सिक्का निकाल्ने कुप्रथा रहँदै आएको छ । यदि सिक्का निकाल्नेले झुटो बोलेको छ भने उसको हात पोल्ने र तेलमा आगो बल्ने मान्यता राखिन्छ । यसै मान्यताको आधारमा महिलाका श्रीमान्ले उनको अग्निपरीक्षा लिएको बताए ।
श्रीमानले भने, ‘वास्तविकता जान्नका लागि यसो गरेँ’
भिडियोमा महिलाका श्रीमानले यसो भनिरहेका छन्, ‘मेरी श्रीमतीका अनुसार उनलाई एक व्यक्ति र एक प्रहरीले आफूसँगै लिएर गएका थिए तर उनीहरुले उनलाई केही पनि गरेनन् । मेरी श्रीमती साँचो बोलिरहेकी छिन् त भनेर थाहा पाउनका लागि यसो गरेँ । त्यसैले म यस्तो गरिरहेको छु ।’
भिडियो भाइरल भएपछि कारवाहीको मागः
भिडियो सार्वजनिक भएपछि महाराष्ट्र परिषद्की सभापति निलम गोरहेले गृहमन्त्री अनिल देशमुखसँग कारवाहीको माग गरेकी छिन् ।एजेन्सी