२०७७ फागुन २ गते
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिमूलक राजनीतिक दलहरुलाई आगामी निर्वाचनबारे छलफल गर्न बोलाएको छ ।
आयोगले आउँदो वैशाखमा हुने मध्यावधि निर्वाचनको आचार संहिता लगायत विषयमा छलफल गर्न संघीय संसद तथा प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरुलाई बोलाएको हो ।
छलफलका लागि आज (आइतबार) बिहान ११ बजे बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । उनका अनुसार आयोगले तयार पारेको निर्वाचन आचारसंहिताको मस्यौदामाथि दलका प्रतिनिधिहरुसँग छलफल गर्ने र सुझाव लिने तयारी थालिएको हो । निर्वाचनलाई पारदर्शी एवं कम खर्चिलो बनाउने प्रावधानसहितका व्यवस्था मस्यौदामा समेटिएको बताइएको छ ।
गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि चुनाव राष्ट्रपतिमार्फत घोषणा गराएका छन् । त्यसयता चुनाव जाने या प्रतिनिधि सभा पुनस्र्थापना गर्ने भन्ने विषयमा प्रमुख राजनीतिकहरु नै विभाजित छन् । चुनावको मिति आगामी वैशाख १७ र २७ गते तोकिएको छ ।