NarayaniPost.com
बुधबार, साउन ४, २०७९

बिकासमा सुस्ती, सम्झौता सकिँदा पनि सडक निर्माणमा आधा मात्रै काम

नारायणी पोस्ट
आइतवार, भदौ ६, २०७८

२०७८ भदौ ६ गते

पाँचथर । दुई वर्षअघिको साउन ३० गते जिल्लाका तीन मुख्य ग्रामीण सडक कालोपत्रको शिलान्यास हुँदा जिल्लावासीमा सडकका कारण भोग्नुपरेको सास्ती चाँडै अन्त्य होला भन्ने लागेको थियो । सङ्घीय संरचनाअनुसार पहिलोपटक प्रदेश सरकारले धमाधम आयोजना अगाडि बढाइरहेका कारण पूर्वाधारका अन्य आयोजना निर्माणसमेत सुरुआत हुने धेरैको अपेक्षा थियो । तामझामका साथ गरिएका शिलान्यास कार्यक्रममा बजेटको सुनिश्चितता भएकाले निर्माण व्यवसायीले छिटो काम सम्पन्न गरेर पुरस्कार लिनु भनिएको थियो । यसका लागि समुदायस्तरबाट पनि दबाव दिन सुझाव दिइयो ।

शिलान्यास भएका आयोजना पूरा गर्ने अवधि समाप्त भइसक्दा निर्माण पूरा हुने कुनै छाँटकाँट छैन । बरु सडकमा विगतमा जस्तो दुःख थियो, त्यो अहिलेसम्म हटेको छैन । समयमा गन्तव्यमा पुग्न नसक्दा यात्रुले हैरानी ब्यहोरिरहेका छन् भने बिरामी समयमा अस्पताल पुग्न सकिरहेका छैनन् । कृषि उपजले बजार पाउन सकेका छैनन् । खाद्यान्नको ढुवानी गर्न पनि समस्या परिरहेको छ ।

विसं २०७६ साउन ३० गते तामझामसहित कालोपत्रको शिलान्यास गरिएको जिल्लाको कुम्मायक गाउँपालिका जोड्ने सरखण्डे–यासोक सडकमा ना २ ख ९२३६ नंको ट्रक फसेको दुई साता बित्यो । विस्तार गरिएको सडकको हिलो माटो र पानीको आहालमा फसेको ट्रक निकाल्न चालकले दुई दिनसम्म प्रयास गरे पनि सम्भव नभएपछि छाडेको स्थानीयवासी बताउँछन् । निर्माण सम्झौताअनुसार यो सडक गत असार ३० गते नै निर्माण सम्पन्न भइसक्नुपर्थ्यो । पूर्वाधार विकास कार्यालयले लामा÷च्याङमिला जेभी काठमाडौँलाई निर्माणको ठेक्का लगाइएको छ । यो सडक निर्माणको भौतिक प्रगति जम्मा ४५ प्रतिशतमा सीमित छ ।

स्थानीयवासी राजु खतिवडाका अनुसार निर्माण व्यवसायीले नियमित काम नगर्दा आयोजना निर्माणले गति लिन नसकेको हो । “१०÷१५ दिन काम गर्छन्, कहिले कोभिड आयो भन्छन्, कहिले बर्खा”, खतिवडाले भने, “समय घर्किँदा पनि काम नहुँदा हामीलाई दुःख त लागेको छ नै, त्यो भन्दा बढी सास्ती खेप्नुपरेको छ ।” विकासमा धेरै आयोजना एकैसाथ सुरुआत हुँदा उत्साहित बनेका स्थानीयवासीलाई समयमा निर्माण पूरा नहुने र पहिलेजस्तै दुःख भोग्नुपर्ने बाध्यताले सधैँ सताइरहेको छ ।

सरखण्डे–यासोक ११.३१० किलोमिटरको सडकले जिल्लाको कुम्मायक र तुम्बेवा गाउँपालिकालाई सदरमुकाम फिदिमसँग जोड्दछ । मुख्य सडक समयमा निर्माण सम्पन्न नहुँदा यासोक–फिदिम चल्ने सवारी साधन कुम्मायक–४ तिङदेन तथा कुम्मायक–१ फिक्कलबाट जोडिएका शाखा सडक हुँदै गुड्ने गरेका छन् । शाखा सडकसमेत निरन्तरको वर्षा र पर्याप्त मर्मतको अभावमा कठिन र जोखिमपूर्ण बनेका छन् ।

सवारी चालक लक्ष्मण घिमिरेका अनुसार ढुवानीका साधन हिलोमा फसेपछि सडक नसकुञ्जेल पर्खिनुको विकल्प हुँदैन । “गाडी फसेपछि १५ दिनसम्म कुरेर बस्नुपर्ने बाध्यता छ”, घिमिरेले भने, “सडक निर्माणको काम समयमा नभएपछि दुःख पाउने त हामीले हो ।” ग्रामीण सडक बर्खामा हिलाले अवरुद्ध हुने मात्रै होइन, हिउँद वा पानी नपरेको समयमा धुलोले हिँडिनसक्नु हुन्छन् ।

पूर्वाधार विकास कार्यालय पाँचथरका इञ्जीनियर टीकाराम लिम्बूका अनुसार विशेषत कोभिड–१९ सङ्क्रमणको महामारीका कारण निर्माण अवरुद्ध हुँदा आयोजना समयमा पूरा हुन नसेका हुन् । “हाम्रो कार्यालयबाट अगाडि बढाई म्याद सकिएका मुख्य तीन आयोजनाको म्याद छ महिना थप भएको छ”, लिम्बूले भने, “बर्खा भए पनि काम अगाडि बढाउन भनिरहेका छौँ ।” स्रोत सुनिश्चित भएको भनी बहुवर्षीय ठेक्का लागेको भए पनि आयोजनामा समयमा रकम निकासा नहुँदा ठेकेदारले विभिन्न बहाना बनाउन पाएका छन् ।

यता सबै सरकारी निकायले कोभिड–१९ को महामारीविरुद्धका कार्यमा ध्यान केन्द्रित गर्दा ठेकेदारलाई हाइसञ्चो भएको छ । विगतमा जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाको अगुवाइमा धेरै आयोजनामा निर्माणको अवस्थादेखि गुणस्तर समेतका विषयमा अनुगमन, निरीक्षण तथा निर्देशन हुने गरेको थियो । कोभिड–१९ को महामारीपछि सबै निकाय त्यसतर्फ केन्द्रित हुँदा निर्माणका काम करिब ठप्प भएका छन् । सडक निर्माणले अपेक्षित गति नलिँदा सबैले सास्ती व्यहोर्नुपरेको र आफूहरुले निरन्तर दबाब सिर्जना गरिरहेको कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङको भनाइ छ ।

सरखण्डे–यासोकसँगै शिलान्यास भएका सिवादोभान–लुम्फाबुङ सडकको भौतिक प्रगति ६५ प्रतिशत तथा फिदिम–फालोट सडकको फिदिम–सल्लेरी खण्डको भौतिक प्रगति ७० प्रतिशत रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । फिदिम–फालोट सडकको सल्लेरी–विहीदिन खण्ड कालोपत्र भई सहजै सवारी साधन सञ्चालन भइरहेका छन् । दुइतर्फ कालोपत्र भए पनि फिदिम–सल्लेरी खण्ड थपिएको म्यादभित्र समेत निर्माण पूरा हुन कठिन छ । यहाँ पहिरो झर्ने समस्याले पटक–पटक सडक अवरुद्ध भइरहेको छ । सवारी तथा मानवीय चाप निकै न्यून हुने सिवादोभान–लुम्फाबुङ सडक निर्माणले समेत अपेक्षित गति नलिएको स्थानीयवासीको भनाइ छ ।

सरखण्डे–यासोक ११.३१० किलोमिटरको सडक रु ५३ करोड ३३ लाख छ हजार ४८१ लागतमा लामा÷च्याङमिला जेभी काठमाडौँले निर्माण गरिरहेको छ । सिवादोभान–लुम्फाबुङ १३.९२१ किलोमिटरको सडक कान्छाराम÷याक्थुङहाङ जेभीले रु ७६ करोड २२ लाख ४५ हजार ५८३ लागत निर्माणको जिम्मा लिएको छ । यस्तै १०.११२ किलोमिटरको फिदिम–फालोट सडकको फिदिम–नाङ्गीन खण्ड निर्माणको जिम्मा कन्काइ पिएस जेभीले रु ५२ करोड ६७ लाख ३० हजार ८१३ लागतमा लिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । तीनवटै आयोजना निर्माण लम्बिँदा यी सडक हुँदै यात्रा गर्नुपर्ने सर्वसाधारणले सास्ती भोग्दै आएका छन् ।

आन्य समाचारहरु:-
July 1, 2022
हेटौंडा-५ मा मोटरसाइकल दुर्घटना

हेटौंडा । हेटौंडा उपमहानगर ५ मा दुर्घटना भएको छ ।  दुइवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मा ३ जना घाइते भएका छन् । ना ५१ प ७३५९ निलो पल्सर पिप्लेबाट बजार आउदै गरेको निलो पल्सर र हेटौंडा बाट पिप्ले जाँदै गरेको बा प्र ३ -००४ प १५९९ नम्बर को एन एस […]

June 10, 2022
ऑंबुखैरेनिमा कार र मोटरसाइकिल खसेको ठाउँमा दुइ पुरुषको शव भेटियो

सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा आज बिहान ४ बजे भासिएको सडकबाट बा१० च४६४९नम्बरको कार र मोटरसाइकिल खसेको थियो। मोटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जोगाएका थिए भने कारमानिससहित पहिरोमा खसेको प्रहरीले बताएको छ। लामो जामका कारण यात्रुको बिचल्ली भएको छ। लामो […]

May 29, 2022
मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको जहाज

१५ जेठ, चितवन । पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएको जहाज मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी आएको छ।म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाका अनुसार मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको र थप जानकारी आउन बाँकी रहेको छ।तारा एयरको ९ एनएईटी टि्वनअटर विमान दुर्घटनामा परेको हो।विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी […]

May 14, 2022
चितवनमा माओवादी केन्द्रले खाता खोल्यो,इच्छाकामना १ मा सन्तबहादुर राना विजयी

चितवन,३१ बैशाख । चितवनमा माओवादी केन्द्रले खाता खोलेको छ । इच्छाकामना गाँउपालिका १ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका सन्तबहादुर राना विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवारलाई १० मतको झिनो अन्तरमा पराजित गरेका हुन् ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram