२०७८ भदौ १५ गते
काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा मंगलबारबाट भौतिक रुपमै विद्यालय सञ्चालनमा आएका छन् ।
सरोकार पक्षको सर्वपक्षीय भेलाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी विद्यालय खोल्ने निर्णय भएसँगै मंगलबारबाट नगरक्षेत्रका सामुदायिक एवं निजी विद्यालयहरु सञ्चालनमा आएका हुन् ।
विद्यालय खुलेपनि विद्यार्थीको उपस्थिति भने न्यून रहेको विद्यालयका शिक्षकहरु स्वयं बताउँछन् । जोरपाटीस्थित छाहारी शिक्षा सदनका प्रधानाध्यापक अनिल पराजुलीले मंगलबार एक तिहाइ मात्रै विद्यार्थी उपस्थिति भएको बताए ।
‘विद्यालयमा ४७८ जना विद्यार्थी छन् । जसमध्ये एक तिहाइ मात्रै विद्यार्थी उपस्थित भएका छन् । पहिलो दिन भएर पनि हुन सक्छ । एक दुई दिनभित्र विद्यार्थीको उपस्थिति बढ्न सक्छ’ प्रअ पराजुली भन्छन् ।
उपस्थित भएका विद्यार्थीहरुमा पनि एक प्रकारको अन्यौलता देखा परेको उनले बताए । ‘विद्यालय आएका विद्यार्थीहरुमा एक खालको अन्यौलता देखिन्थ्यो । विद्यार्थीहरु आफ्ना साथीहरुसँग पनि त्यति खुलेका देखिएनन् । संक्रमणको जोखिमप्रति सचेत भएका पनि हुन सक्छ ’ प्रअ पराजुलीले भने ।
जनस्वास्थ्यको मापदण्डलाई ख्याल गर्दै सिफ्टवाइज रुपमा विद्यालय सञ्चालन गरिएको उनले बताए । कक्षा ८–१० सम्मका विद्यार्थीलाई बिहानी सिफ्टमा, कक्षा ४–७ सम्मका विद्यार्थीलाई ११ बजेदेखि दिउँसो २ बजेसम्म र कक्षा ४ देखि तल्लो कक्षाका विद्यार्थीलाई दिउँसो साढे १ बजेदेखि विद्यालय आउने व्यवस्था मिलाइएको उनले बताए ।
यस्तै सुनौलो भविष्य आवसीय विद्यालयमा पनि मंगलबार विद्यार्थी कम उपस्थित भएका छन् ।
पहिलो दिन झण्डै ५० प्रतिशतको हाराहारीमा विद्यार्थीं विद्यालय आएको विद्यालयकी प्रिन्सिपल साधना खतिवडाले जानकारी दिइन् ।
‘झण्डै चार महिनादेखि घरभित्रै थुनिएर बसेका बालबालिकाहरु आज पहिलो दिन विद्यालय आएका छन् । उनीहरुमा एक खालका डर त हुने नै भयो । तर पनि हामीले स्वास्थ्य मापदण्ड पालनामा विद्यार्थीहरुलाई अभ्यास्त पारेर अध्यापन गराउँछौं’ खतिवडाले अनलाइनखबरसँग भनिन् ।
‘माथिल्लो कक्षामा विद्यार्थी संख्या कम नै भएका कारण भौतिक दुरी कायम गरी अध्यापन गराउन सकिन्छ । तर प्रि प्राइमरी र प्राइमरी कक्षामा भने विद्यार्थी संख्या धेरै छन् । त्यसैले सबै विद्यार्थी नियमित उपस्थित हुन थालेपछि रोल नम्बरको आधारमा अल्टरनेट गरी विद्यार्थी बोलाउने योजनामा छौं’ उनले भनिन् ।
नगरपालिकाका मेयर सन्तोष चालिसेले सर्वपक्षीय बैठकले जनस्वास्थ्यको मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्ने निर्णय भएको बताए ।
उनले अनलाइनखबरसँग भने, ‘लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको भविष्य नै अन्यौलमा पर्ने डर भयो, त्यसैले सबै पक्षको बैठकको निर्णयअनुसार स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी आजबाट विद्यालय खोल्ने निर्णय लिएका हौं ।’ आफूहरुको निर्णयबाट धेरैजसो विद्यार्थी र अभिभावक उत्साहित भएको दाबी गर्दै चालिसेले नियमित रुपमा विद्यालय अनुगमनको प्रवन्ध पनि मिलाइएको बताए ।
‘हाम्रो नगरपालिकामा ६५ प्रतिशत जनसंख्यामा अनलाइनको पहुँच छैन । सक्रिय संक्रमित पनि एक प्रतिशत मात्र छन्, १ लाख २४ हजार जनसंख्यामध्ये १ लाख २० हजारलाई खोप लगाइसक्यौं’ चालिसे भन्छन्, ‘त्यसैले स्थानीय सरकारको अधिकार प्रयोग गरी विद्यालय सञ्चालन गर्ने निर्णय गर्यौं ।’
नगरपालिकाका शिक्षा शाखा प्रमुख विजय आचार्यले आजबाट निजी विद्यालयहरु पनि सन्चालनमा आएको बताए । ‘सरकारी स्कुल त खुलेकै थिए, आजबाट निजी विद्यालयहरु पनि सञ्चालनमा आए’ आचार्यले भने ।