२०७८ भदौ १६ गते
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस बागमती प्रदेशको राजनीतिमा अग्रसर भएको छ ।
कांग्रेसले प्रदेशको सरकार फेर्न कम्मर कस्दै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको राजीनामा माग गरेको छ । मुख्यमन्त्री शाक्यले प्रदेश सभामा बहुमत गुमाएपछि विपक्षी दल कांग्रेसले राजीनामा मागेको छ ।
नेकपा एमालेका १२ जना सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्र बानियाँले बहुमत गुमेपछि नैतिकताको आधारमा मुख्यमन्त्री शाक्यले राजीनामा दिनुपर्ने बताएका छन् ।
प्रदेश सभामा बहुमत गुमेपछि शाक्यले १ महिना भित्रमा विश्वासको मत लिनुपर्ने प्रावधान छ । बागमतीमा बहुमतका लागि ५५ सांसदको समर्थन आवश्यक छ भने शाक्यको पक्षमा ४४ एमाले सांसदको समर्थन छ ।
मुख्यमन्त्री शाक्य अल्पमतमा परेपछि अब बागमतीमा नयाँ सत्तँ गठबन्धन बन्ने भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी सम्मिलित सरकार बन्ने देखिएको छ । कांग्रेसका ईन्द्र बानियाँ, माओवादी केन्द्रका शालिकराम जम्मरकट्टेल र एकीकृत समाजवादीका राजेन्द्र पाण्डेमध्ये १ जना मुख्यमन्त्री बन्ने सम्भावना देखिएको छ ।
एमाले छाडेर सांसदहरू राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, ईन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर, कुसुमकुमार कार्की र कृष्णप्रसाद शर्मा एकीकृत समाजवादी पार्टीमा लागेका छन्