२०७८ भदौ २० गते
काठमाडौं । नेपाली फुटबल टिम र भारतीय फुटबल टीमबीच आज दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ । साफ च्याम्पियनसिपको तयारीमा रहेको भारत दुई मैत्रपूर्ण खेलको लागि नेपाल आएको हो । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा दुवै टोलीले १(१ गोल गरेका थिए । अब दोस्रो खेलमा दुवै टिम प्रदर्शन सुधार गर्दै जित हात पार्ने लक्ष्यका साथ मैदान उत्रने छन् ।
नेपाल पनि विगत दुई महिना देखि साफ च्याम्पियनसिपको तयारी गरिरहेको छ । त्यही तयारीका स्वरुप नै भारतसंग मैत्रपूर्ण खेल आयोजना गरेको हो । दोस्रो खेलअघि शनिबार नेपाली टिमले एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रशिक्षण गरेको थियो ।
भारतीय टिमले भने बिहान सोल्टी होटलबाहिरै हल्का स्ट्रेचिङ गरेको थियो । यस्तै दिउँसो भद्रकालीस्थित आर्मी हेडक्वाटरमा प्रशिक्षण गरेको भारतीय फुटबल संघले जनाएको छ । संघले दोस्रो खेलमा अझ राम्रो प्रदर्शन गर्ने समेत जनाएको छ ।
पहिलो खेलअघि प्रिम्याच कन्फ्रेन्समा नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताईरीले भारत बलियो टिम भए पनि जितकै लागि खेल्ने बताएका थिए । तर पहिलो खेल बराबरी भएपछि उनले नेपाली समर्थकसँग माफी माग्दै अझै सुधार गर्नुपर्ने बताए । भारतीय प्रशिक्षक इगोर स्टिमाकले भने भारत अझै २(३ गोलको हकदार भएको बताएका थिए । दुवै प्रशिक्षकको भनाइले पनि जितकै लागि खेलेको प्रष्ट हुन्छ । दोस्रो खेलमा जितकै लागि खेल्ने यो भनाइले संकेत गर्छ ।
पहिलो खेल हुने अघिल्लो दिन मात्र अखिल नृपाल फुटबल संघ एन्फाले सरकार र सीसीएमसीबाट दर्शक प्रवेशका लागि अनुमति प्राप्त गरेपछि पहिलो खेल करिब पाँच हजार दर्शकले दशरथ रंगशालामै पुगेर हेरेका थिए ।
गत चैतमा नेपालमै आयोजना भएको थ्री नेशन्स कप फुटबलमा पनि दर्शकलाई प्रवेश अनुमति थियो । तर वैशाख(जेठमा भएको नेपाल सुपर लिगमा भने निषेधाज्ञाका कारण दर्शक प्रवेश अनुमति थिएन ।
नेपाल र भारत दुवै टिम अहिले माल्दिभ्समा अक्टोबरमा हुने साफ च्याम्पियनसिपको तयारीमा छन् । त्यसै तयारी अन्तर्गत मैत्रीपूर्ण खेल आयोजना भएको हो । यसै खेलमार्फत दुवै टिम आफ्नो कमजोरीलाई सुधार गर्दै साफका लागि तयार हुन चाहन्छन् ।
नेपाली टिम भारतसँगको खेलपछि सेप्टेम्बर १० मा थप बन्द प्रशिक्षणका लागि कतार जानेछ र उतैबाट सेप्टेम्बर २७ मा साफका लागि माल्दिभ्स प्रस्थान गर्ने कार्यक्रम छ ।
साफ अक्टोबर १ देखि १६ सम्म आयोजना हुनेछ । नेपाल र भारतबीच दोस्रो खेल आईतबार साँझ ५स्३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । नेपालले भारतलाई ८ वर्षयता हराउन सकेको छैन । सन् २०१३ मा नेपालमै भएको साफ च्याम्पियनसिपमा नेपालले भारतलाई समूह चरणमै २(१ ले पराजित गरेको थियो । भारतले भने पछिल्लो पटक सन् २०१७ मा मुम्बईमा भएको मैत्रीपूर्ण खेलमा नेपाललाई २(० ले पराजित गरेको थियो । नेपाल र भारतबीच अहिलेसम्म २० खेल हुँदा नेपालले २ खेलमात्र जितेको छ । भारतले १३ खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।