२०७८ भदौ २७ गते
वीरगन्ज । बारा र रौतहटबाट प्रहरीले नक्कली नेपाली नोटको कारोबार गर्ने गिरोह पक्राउ गरेको छ । प्रहरीले नेपाली नक्कली नोटको कारोबार गर्ने ५ जनालाई पक्राउ गरेको हो । नेपाली नक्कली नोट कारोबार हुँदै गरेको थाहा पाएपछि प्रहरीको 'स्पेसल टास्क फोर्स' शनिबार बिहान निजगढ पुगेको थियो ।
प्रहरीले उनीहरुलाई बाराको निजगढ र रौतहटको चन्द्रनिगाहपुरबाट नेपाली नक्कली नोटसहित पक्राउ गरेको हो । प्रहरीले शनिबार निजगढको होटल तारा इनबाट ४ र रौतहटको चन्द्रनिगाहपुरबाट १ जना गरी ५ जनालाई पक्राउ गरेको हो ।
उनीहरु निजगढको तारा इन होटलमा दुई दिन पहिलेदेखि नै बसेका थिए । उनीहरुको सूचनाका आधारमा प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट थप १ जनालाइ पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट नेपाली एक हजार दरका नक्कली र सक्कली नोट मिसाएर राखिएको ९३ लाख रुपैयाँ बरामद गरेको छ ।
पक्राउ परेका व्यक्तिहरुले प्रयोग गर्ने बा १४ च ९३८२ नम्बरको स्कारपियो गाडी पनि प्रहरीले नियन्त्रण लिएको छ ।पक्राउ परेका पाँचैजनालाई शनिबार राति होटल तारा इनमै राखेर आइतबार बिहान मात्र बाराको कलैयास्थित जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।
पक्राउ परेका व्याक्तिहरुको परिचय भने प्रहरीले गोप्य राखेको छ । प्रहरी श्रोतका अनुसार, भारतमा नेपाली एक हजार दरको नक्कली नोट छापेर प्रदेश २ मा ल्याएर कारोबार गर्ने गिरोह नै पक्राउ परेको हो ।
बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले नक्कली नोटको कारोबारमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरे । प्रहरी उपरीक्षक शाहीले अन्नपूर्णसँग भने,‘नक्कली नोटको कारोबारमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भइरहेको छ ।’
शनिबार दिनभर अप्रेशन
काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयबाट नेपाल प्रहरीको स्पेशल टास्क फोर्स शनिबार बिहान ९ बजे नै निजगढ आइपुगेको थियो ।शनिबार बिहानैदेखि काठमाडौंबाट आएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय निजगढको सहयोगमा होटल तारा इनमा अप्रेशन सुरु गरेको थियो ।बिहान ९ बजे होटेल छिरेको प्रहरी टोली बेलुकी ७ बजे सम्म त्यहीं थियो ।
जग्गा व्यापारी भन्दै नक्कली नोट कारोबार
होटल तारा इनका सञ्चालककाअनुसार, पक्राउ परेका मध्येका केही व्याक्ति विगत ३ वर्ष देखि होटलको नियमित ग्राहक थिए । उनीहरुले आफूहरुलाई जग्गाको काराेबारी भएको परिचय दिएका थिए । होटल सञ्चालकका अनुसार पछिल्लो पटक उनीहरुले होटलको दुईवटा कोठा बुक गरेर बसेका थिए ।