२०७८ भदौ २९ गते
काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत दोस्रो सिरिजमा विजयी सुरुवात गरेको नेपालले आज (मंगलबार) दोस्रो खेलमा घरेलु टिम ओमानसंग प्रतिस्पर्धा गर्दै छ ।
नेपालको खेलको नेपाली समय अनुसार अल अमिरत क्रिकेट रंगशालामा दिउँसो सवा चार बजे सुरू हुँदैछ । नेपालले टस जितेर पहिले व्याटिङ गर्ने निर्णय लिएको छ ।
नेपालको ओपनिङ व्याटिङ कुशल भुर्तेल र आशिफ शेखले गर्दैछन् । नेपालले आजको खेलमा पनि जित निकाल्ने तयारीमा छ ।
लिग–२ मा नेपालले घरेलु मैदान काठमाडौँमा ओमानसँग दुई खेल खेलिसकेको छ। तर दुवै खेलमा नेपाल पराजित भएको थियो । सन् २०२० को फेब्रुअरीमा नेपालमा भएको सिरिजमा ओमानले नेपाललाई ८ विकेट र १८ रनले पराजित गरेको थियो। त्यसैले आजको खेल नेपालका लागि बदला लिने अवसरको रुपमा रहेको छ ।
ओमान सुरु भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले हिजो अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । ओपनर कुशल भुर्तेल र मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरेपछि नेपालले अमेरिकाविरुद्ध शानदार जित हासिल गरेको हो ।
विश्वकप लिग–२ मा नेपाल रहेको समूहमा पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन् । नेपाल समूहको अङ्क तालिकाको छैटौँ स्थानमा छ ।
यस्तै ओमान १० खेलमध्ये आठमा जित र दुईमा हार व्यहोर्दै १६ अङ्कसहित शीर्षस्थानमा छ ।