२०७८ असोज १२ गते
काठमाडौं । मलेशियाबाट नेपाल फर्किएका यात्रुलाई सुन कारोबार गर्नेहरुले पठाएको भनिएको करिब ८ सय ग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको छ ।१५ जना यात्रुको साथबाट ७५० ग्राम बराबरको बाला र सिक्री बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेश नाथ बाँस्तोलाले बताए ।
सुन संकलन गर्न गएका दुईजनालाई प्रहरीले ३ थान बाला सहित पक्राउ गरेको छ । सो बालाको तौल ४९ दशमलव ९ ग्राम छ । मलेशियाबाट सिंगापुर ट्रान्जिट हुँदै काठमाडौं आएका यात्रुको साथबाट विमानस्थलमा सुन संकलन गर्न जाँदा पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ३३ वर्षीय समुन्द्र दंगाल र संखुवासभा घर भएका ४३ वर्षीय सन्तवीर राई छन् ।
विदेशबाट सुन लिएर आउनेले सो सुन ‘मेरो होइन्’ भनेर स्वघोषणा गरेपछि उनिहरुलाई रिहा गरेर सुन मात्र बरामद गरिएको एसएसपी बाँस्तोलाले बताए । सुन तस्करी गर्ने समूहले विदेशबाट फर्किनेहरूलाई ‘भरिया’ बनाएर १४ थान बाला र १ थान सिक्री पठाएको सुराकीका आधारमा अपराध महाशाखा र विमानस्थल प्रहरीले अप्रेशन चलाएको थियो ।
मलेशिया विमानस्थलबाट सुन पठाउनेहरूले नेपालमा ओर्लिएपछि ‘सामान काठमाडौं विमानस्थल आसपास तथा होटलहरूमा रिसिभ गर्न आउनेलाई दिनु’ भनेर पठाएको सुन ल्याउनेहरूले बताएका छन् । बरामद गरेको सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको एसएसपी बाँस्तोलाले बताए ।