२०७८ असोज ४ गते
काठमाडौं । सरकारले सोमबारदेखि देशभर कोरोनाविरुद्धको खोप लगाउँदैछ । देशभर सोमबारदेखि ११ दिनसम्म कोरोनाविरुद्धको पहिलो डोज लगाउने भएको हो । देशका विभिन्न जिल्लामा कोरोनाविरुद्धको भेरोसेल खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
अहिले पहिलो मात्रा लगाएका व्यक्तिलाई कात्तिक ४ देखि १४ गतेसम्म दोस्रो मात्रा दिइनेछ । मन्त्रालयद्वारा जारी सूचनामा काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने भएको छ ।
त्यस्तै, सोलुखुम्बु, ताप्लेजुङ, संखुवासभा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, दार्चुला, बाजुरा र रसुवामा १८ वर्षदेखि माथिका नागरिकलाई भेरोसेल खोप लगाइने छ । चितवन र काभ्रेमा ३५ वर्षमाथि उमेरका र १८ वर्षमाथिका विद्यार्थीलाई खोप लगाइनेछ ।
मनाङ, मुस्ताङ र रुकुमपूर्वबाहेकका बाँकी जिल्लामा भने ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने मन्त्रालयले जनाएको छ ।