२०७८ असोज ४ गते
बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीय एक युवाले आक्रमण गरेका छन् । बुटवल ३ ज्योतिनगरमा गएको पहिरोको अवलोकनका लागि पुगेका सुवेदी माथि स्थानीय एक युवाले मुक्का प्रहार गरेका हुन्।
लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा एक दर्जन घर पहिरोले पुरिएका थिए भने ५० भन्दा बढी घरपरिवार विस्थापित भएका थिए।
पहिरो गएको लामो समयसम्म पनि सरकारले विस्थापितलाई बेवास्ता गरेको भन्दै आक्रोशित बनेका स्थानीय युवाले सोमबार बिहान पहिरो अवलोकनको लागि पुगेका सुवेदी माथि एक्कासी आक्रमण गरेका थिए। उनीमाथि आक्रमण भएपछि तत्काल जनपथ र नगर प्रहरीले रोकेका थिए । आक्रमण गर्नेको परिचय खुलेको छैन ।
आफूहरु विस्थापित हुँदा समेत सरकारले नहेरेको भन्दै स्थानीय आक्रोशित बन्दै मुक्का प्रहार नै भएपछि मेयर फर्किएका थिए । सो स्थानमा पटक चुरे क्षेत्रबाट आउने पहिरोले समस्या पार्ने गरेको छ ।
२०५५ सालमा पहिरो गएको स्थानमा अहिले पुनः पहिरो खसेको हो। उक्त ठाउँमा २०५५ साल भदौ २० गते पनि पहिरो खस्दा ५ दर्जन घरमा क्षति पुगेको थियो। पहिरोमा परेका ५७ घर परिवारलाई सरकारले क्षतिपूर्ति दिएको थियो।