२०७८ असोज २१ गते
काठमाडौं । इटहरी उपमहानगरपालिका-१६ लायन्स चोकस्थित पूर्व-पश्चिम लोकमार्गमा ट्रकको ठक्करबाट स्कुटीमा सवार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्कुटी चालक इनरुवा नगरपालिका-२ का २५ वर्षीय सुशान्त भट्टराई र संखुवासभा चिचिला गाउँपालिका-२ का २० वर्षीय बिबिसन विक रहेका छन्।
बुधबार राति सवा ११ बजे पश्चिमबाट पूर्व जाँदै गरेको ना६ख ५६८१ नम्बरको ट्रकले विपरीत दिसाको को२०प ६७४७ नम्बरको स्कुटीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुबैलाई उपचारका लाथि न्युरो अस्पताल विराटनगर लाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
ट्रक र चालक मकवानपुर मनहरी नगरपालिका-९ का ३१ वर्षीय अर्जुन गिरी इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा छन्।