२०७८ असोज २७ गते
रौतहट । रौतहट प्रहरी प्रमुख एसपी विनोद घिमिरेले गाउँ गाउँमा मेलाको आयोजना गरेर मनोरञ्जनको नाउँमा अर्धनग्न नाच गराउने जनप्रतिनिधिलाई पनि कारबाहीको दायरामा ल्याउन पछि नपर्ने चेतावनी दिएका छन् । चाडपर्वमा गरिएको सुरक्षा योजनाबारे जानकारी दिँदै घिमिरेले रौतहट लगायत तराईका जिल्लाहरूमा भारत र नेपालको विभिन्न स्थानबाट महिला ल्याएर मेलाहरूमा गराउने अर्धनग्न नाचले समाजमा विकृति फैलिने भएकाले त्यस्तो गतिविधि नियन्त्रण गरिने बताएका हुन् । कुनै पनि स्थानमा मेला, नाच, कुस्ती तथा अन्य कुनै समारोह गर्दा आयोजकले स्थानीय प्रशासनसँग अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने बताए ।
दसैँ तिहार मनाउन बाहिरबाट घर आउने यात्रु चढेको गाडीहरू दुर्घटना हुनबाट जोगाउन ट्राफिक प्रहरीका साथै जिल्लाका सबै युनिटका प्रहरी लाई विशेषरूपमा निगरानी गर्न निर्देशन दिएको एसपी विनोद घिमिरेले जानकारी दिएका छन् । त्यसैगरी सहरबाट दसैँ तिहार मनाउन गाउँ आएका परिवारका केटा केटीले जथाभावी सवारीसाधन न चलाउन भन्नेबारे पनि सबै युनिटमा निर्देशन दिएको एसपी घिमिरेले बताएका छन् ।
दसैँ दिपावली र छठ पर्वमा चोरी, डकैती, लुटपाट तथा अन्य आपराधिक गतिविधि हुन नदिन प्रहरीले रौतहटमा विशेष सुरक्षा नीति अपनाएको छ । विशेष नीति अनुसार प्रहरी गस्ती टोलीले चोरीमा संलग्न ४ जनालाई मौलापुर बाट नियन्त्रणमा लिएको छ । उक्त नीति अनुरूप चाड पर्वमा कुनै आपराधिक गतिविधि नहुने एसपी घिमिरेले विश्वास व्यक्त गरेका छन् ।