२०७८ कार्तिक ५ गते
काठमाडौं । अघिल्लो हप्ता भारतको केरलका एक व्यक्तिलाई आफ्नी श्रीमतीलाई कोब्राले टोकाएर मारेका कारण दोहोरो आजीवन कारावासको सजाय तोकिएको छ । यस्तो सजाय भारतमा निकै दुर्लभ मानिन्छ । बीबीसी हिन्दीका संवाददाताले यो निकै भयानक हत्याकाण्डको कहानी यसरी प्रस्तुत गरेका छन् ।
अघिल्लो वर्ष अप्रिलमा २८ वर्षीया सुरज कुमारले संसारको सबैभन्दा विषालु सर्पमध्ये एक, स्पेक्टेकल्ड कोब्रालाई ७ हजार भारुमा खरिद गरेका थिए ।
भारतमा सर्पको व्यापार अवैध हो, त्यसैले सुरजले दक्षिणी राज्य केरलका सर्प व्यापारी सुरेश कुमारसँग गोप्य रुपमा उक्त सर्प किने । सुरजले एउटा प्लास्टिकको भाँडोमा हावा प्रवाहका लागि एउटा प्वाल पारे, कोब्रालाई भित्र राखे र घर लिएर गए ।
१३ दिनपछि उनले उक्त भाँडोलाई एउटा ब्यागमा राखे र लगभग ४४ किलोमिटर टाढा आफ्नो ससुराली पुगे । त्यहाँ उनकी श्रीमती उत्तरलाई पहिला नै सर्पले टोकेको थियो र उनी निको हुने क्रममा थिइन् ।
जूसको गिलास र मृत्युः
सुरज र उत्तराको भेट दुई वर्षअघि एउटा मेट्रोमोनियल ब्रोकरमार्फत् भएको थियो । सुरजका पिता एक अटो रिक्सा चालक थिए र आमा एक गृहिणी ।
उत्तरा, सुरजभन्दा तीन वर्ष कान्छी थिइन् र उनी लर्निङ डिसएबिलिटीद्वारा ग्रसित थिइन् जसमा मानिसलाई नयाँ कुरा सिक्न समस्या हुन्छ । उनी निकै सम्पन्न परिवारकी थिइन् । पिता एक रबर व्यापारी र आमा विद्यालयकी अवकाशप्राप्त प्रधानाध्यापक हुन् ।
यी दुईले विवाह गर्दा सुरजले उत्तराका आमा–बुवासँग ७६८ ग्राम सुन, एउटा सुजुकी सेडान र ४ लाख नगद दाइजो लिएका थिए । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सुरजलाई उत्तराका आमा–बुवाले उनकी छोरीको हेरविचारका लागि ८ हजार भारु प्रति महिना दिने गरिन्थ्यो ।
उत्तरालाई सर्पले पहिलो पटक टोक्दा उनी ५२ दिनसम्म अस्पताल बसिन् । अस्पतालबाट डिस्चार्ज भएपछि उनी माइती नै फर्किन् ।
उनलाई विषालु सर्प रसल वाइपरले टोकेको थियो । यसका कारण उनको खुट्टामा तीनवटा शल्यक्रिया गर्नुपरेको थियो ।
अनुसन्धानकर्ताका अनुसार जब उत्तराको स्वास्थ्यमा सुधार आइरहेको थियो तब ६ मेको राती सुरजले उनलाई एक गिलास फलफूलको जुस दिए जसमा उनले बेहोस हुने औषधी मिसाएका थिए । औषधीले असर गरेपछि उनी बेहोस भएपछि सुरजले कोब्रा भएको भाँडो निकाले र पाँच फिट लामो सर्पलाई सुतिरहेकी श्रीमतीमाथि खसालिदिए ।
तर सर्पले उनीमाथि हमला गरेन, उल्टै भाग्यो । सुरजले भागिरहेको सर्पलाई पुनः उठाए र उत्तरामाथि फ्याँकिदिए । तर सर्प पुनः चिप्लियो ।
सुरजले तेस्रो पटक कोसिस गरे । यतिबेला उनले कोब्राको गर्धन समातेर उत्तराको बायाँ हाततर्फ लिएर गए । रिसाएको कोब्राले उत्तरालाई टोक्यो । त्यसपछि उनले सर्पलाई एउटा दराजमा बन्द गरिदिए । सर्प रातभरी दराजभित्रै थुनियो ।
अस्पतालले प्रहरीलाई गरे फोनः
पशु चिकित्सक मविश कुमार भन्छन्, ‘जबसम्म तपाईंले कोब्रालाई उक्साउनु हुन्नँ, तबसम्म कोब्राले टोक्दैनँ । सुरजले यसलाई समात्नुपर्यो र आफ्नी श्रीमतीलाई टोक्नका लागि बाध्य पार्नु पर्यो ।’
अनुसन्धानकर्ताका अनुसार सुरजले जूसको गिलास पखाले, सर्पलाई सम्हाल्नका लागि प्रयोग गरिएको लठ्ठी नष्ट गरे र आफ्नो मोबाइल फोनको कल डिटेल्स डिलिट गरे ।
उत्तराकी आमाले प्रहरीलाई दिएको जानकारी अनुसार बिहान उनी उत्तराको कोठामा पुग्दा छोरीलाई ओछ्यानमा नै देखिन् । ‘उनको मुख खुल्ला थियो र उनको बायाँ हात एकातिर झुण्डिरहेको थियो,’ उनकी आमाले भनिन् ।
उनका अनुसार कोठामा सुरज पनि थिए । मणिमेखला विजयनले आफ्ना ज्वाईंलाई ‘ऊ उठेकी छिन् कि छैनन् भनेर तिमीले किन हेरेनौ ?’ भनेर प्रश्न उठाइन् ।
सुरजले जवाफ दिए, ‘सुतिरहेका बेला उसलाई डिस्टर्ब नगरुँ भनेर हेरिनँ ।’
परिवारका सदस्यले उत्तरालाई अस्पताल लिएर गए जहाँ डाक्टरले उनलाई मृत घोषित गरिदिए र उनलाई विष दिएर मारिएको बताए । अस्पतालले प्रहरीलाई फोन गर्यो ।
पास्टमार्टम रिपोर्टमा उनको बायाँ पाखुरामा दुई घाउ देखियो जुन एक इन्चभन्दा पनि कम दुरीमा थिए ।
रगत र विसराको नमूनामा कोब्राको विष र नशालु औषधीको उपस्थितिबारे पत्ता लाग्यो । कोब्राको विषयले सासका मांसपेशीलाई अपाङ्ग बनाएर घण्टौं पछि मार्न सक्छ ।
उत्तराका आमा–बुवाको ऊजुरीमा कारवाही गर्दै प्रहरीले २४ मेमा सुरजलाई आफ्नी श्रीमतीको असामान्य मृत्युको मामिलामा पक्राउ गरियो । ७८ दिनको अनुसन्धानपछि हजारभन्दा बढी पानाको आरोपपत्रसँगै ट्रायल सुरु भयो ।
उत्तरालाई दुईपटक सर्पलाई टोक्न लगाइयोः
पशु चिकित्सक र डाक्टरसहित ९० जनाभन्दा बढीले बयान दिए ।
अभियोजन पक्षले सुरजका कल रेकर्ड, इन्टरनेट हिस्ट्रि, घरको पछाडि बगौंचामा भेटिएको मृत कोब्रा, परिवारको कारमा नशालु पदार्थलगायतका प्रमाणले यो केसलाई बलियो बनायो । साथै, अनुसन्धानमा सुरजले एउटा नभई दुईवटा सर्प खरिद गरेको तथ्य पत्ता लाग्यो ।
अनुसन्धानकर्ताका अनुसार सुरजले रसेल सर्प पनि खरिद गरेका थिए जसलाई उत्तरालाई मृत्यु हुनु केही महिना अघि टोकेको थियो ।
सर्प व्यापारी सुरेशले दुईवटा सर्प सुरजलाई बेचेको स्वीकार गरे ।
पशु चिकित्सकले अदालतसमक्ष कुनै एउटा कोब्रा झ्यालबाट दम्पत्तिको बेडरुमसम्म पुग्ने सम्भावना निकै कम भएको बताए । सर्प व्यापारी, कोब्रा र डमीको मद्दतले यो पूरा घटनाक्रमलाई रिक्रिएट गरियो ।
माविश कुमार भन्छन्, ‘राती कोब्रा खासै सक्रिय हुँदैनन् । हरेक पटक जब हामी कोब्रालाई डमीमा खसालिरहेका थियौं, तब भुइँमा खस्ने गर्दथ्यो र कोठाको कुनै अँध्यारो कुनामा जान्थ्यो । जब हामीले कोब्रालाई उक्सायौं त्यतिबेला पनि उसले टोक्ने कोसिस गरेनँ ।’
त्यसपछि डाक्टरले कोब्राको गर्धन समातेर डमीको प्लास्टिकको हातबाट बाँधिएको कुखुराको मासुको एउटा टुक्रामा टोक्नका लागि उक्साएपछि बल्ल कोब्राले टोक्यो । उत्तराको पाखुरामा दुई घाउबीच जति दुरी थियो उक्त कुखुराको मासुमा टोकेको ठाउँमा पनि त्यति नै दुरी थियो ।
न्यायाधीश एम मनोजले यसबारे टिप्पणी गर्दै भने, ‘यो जघन्य हत्याको मामिला हो ।’
न्यायाधीशले सुरजलाई जन्मकैदको सजाय सुनाउँदै सुरजले उत्तरालाई मार्ने योजना बनाएको र यसलाई कोब्राले टोकेको कारण मृत्यु भएको रुपमा पेश गर्ने कोसिस गरिएको बताए ।
पछिल्लो एक वर्षदेखि श्रीमतीलाई मार्ने योजनाः
अनुसन्धानकर्ताका अनुसार चार महिनामा श्रीमतीलाई मार्ने यो सुरजको तेस्रो कोसिस थियो ।
स्थानीय बैंकमा कलेक्सन एजेन्टको रुपमा काम गर्ने सुरजको भेट अघिल्लो वर्ष फेब्रुअरीमा सर्प समात्ने सुरेशसँग भएको थियो ।
उनले रसेल वाइपर १० हजार भारुमा खरिद गरेका थिए । त्यहाँबाट सर्पलाई प्लास्टिकको भाँडोमा घर ल्याए र लठ्ठीको थुप्रो मुनी लुकाए ।
२७ फेब्रुअरीमा सुरजले आफ्नो घरको पहिलो तलामा सर्प छोडिदिए । अनुसन्धानकर्ताका अनुसार उनले श्रीमतीलाई आफ्नो फोन ल्याउनका लागि माथि जान भने ।
उत्तराकी आमाले प्रहरीले दिएको जानकारी अनुसार उत्तराले भुइँमा सर्प देखेपछि चिच्याइन् । यो सुनेर सुरज माथि आए र लठ्ठीले सर्प उठाएर घरबाट बाहिर निकाले ।
२ मार्चको राती सुरजले पुनः कोसिस गरे । यसपटक उनले आफ्नी श्रीमतीको हलुवामा नशालु औषधी मिसाए र सुतिरहेका बेला वाइपरलाई बेडरुममा छोडिदिए ।
यसपटक सर्पले हमला गर्यो । उत्तरा चिच्याएर उठिन् । उनको खुट्टामा सर्पले टोकेको थियो । त्यसपछि सुरजले सर्पलाई झ्यालबाट बाहिर फ्याँकिदिए ।
उत्तराका पिता विजयसेनन विद्याधरन भन्छन्, ‘केरलमा सर्पले टोक्नु सामान्य हो । त्यसपछि हामीलाई कुनै गडबडीको आशंका भएन ।’
भारतमा हरेक वर्ष ६० हजार मानिसको सर्पले टोकेका कारण मृत्यु हुन्छ ।
आइसीयूृ भएको अस्पताल खोज्ने त्यो रात दुई घण्टाभन्दा बढी समय लाग्यो । उत्तराको शरीर सुन्निएको थियो र रक्तश्रावले पीडित थिइन् । तीन शल्यक्रियापश्चात्, उनी आराम गर्नका लागि कोल्लमस्थित आफ्नो माइती गएकी थिइन् ।
सुरज आफ्ना छोरा र आमा–बुवासँग पथानमथिट्टामा आफ्नो घरमा नै बसे र एकपटक पुनः श्रीमती मार्ने षड्यन्त्र रचे ।

अनुसन्धानकर्तामध्ये एक अनुप कृष्णाले भने, ‘जब उनकी श्रीमती अस्पतालमा थिइन् तब सुरज सर्पलाई सम्हाल्ने र सर्पका विष बारे थाहा पाउनका लागि इन्टरनेटको प्रयोग गर्ने गर्दथे ।’
अनुसन्धानकर्ताका अनुसार सुरजले सन् २०१९ मा नै आफ्नो छोरा ध्रुवको जन्मलगत्तै श्रीमतीको हत्या गर्नका लागि षड्यन्त्र रचिरहेका थिए । उनको इन्टरनेट हिस्ट्रीमा उनले विषालु सर्पबारे सर्च गरेको र युट्युबमा सर्पका भिडियो हेरेको पत्ता लाग्यो । यीमध्ये एउटा भिडियोमा रसेल वाइपर असाध्यै खतरनाक सर्प भएको बताइएको थियो ।
सुरजले कथित रुपमा आफ्ना साथीहरुलाई ‘उनकी श्रीमतीले सपनामा एउटा नागिनको श्राप पाएको र यसमा उनको मृत्यु सर्पले टोकेपछि नै हुने बताइएको’ भन्ने गर्दथे ।
अनुसन्धानकर्ताका अनुसार वास्तवमा सुरज आफ्नी श्रीमतीको हत्या गरेर, उनको पैसा चोरेर अन्य महिलासँग विवाह गर्न चाहन्थे ।
अनुसन्धानका प्रमुख प्रहरी अधिकारी अपुकुट्टन अशोकले भने, ‘सुरजले यसको सावधानीपूर्वक योजना बनाए र तेस्रो प्रयासमा सफल रहे ।’