२०७८ कारीक २२ गते
वीरगन्ज : छठ पूजामा खास गरि सूर्य भगवान र छठी माताको पूजा आरधाना गरिन्छ । कात्तिक महिनाको शुक्ल पक्षको चौथी तिथीबाट छठ पूजाको ब्रत प्रारम्भ हुन्छ । पहिलो दिन चौथी तिथीका दिन बिहान ब्रतालुहरु घर नजिकको ताल, पोखरी वा नदीमा गइ नहुाइ धुवाइ गरि चोखो भइ पियाज र लसुन समेत नमिसाइएको शुद्ध शाकाहारी एंव सात्विक भोजन ग्रहण गर्छन् । यस दिनलाई भोजपुरी र मैथिली भाषामा नहाए खाएके दिन भनिन्छ ।
दोस्रो दिन भोलिपल्ट पञ्चमीका दिनलाई खरना र रसियाव रोटीको दिन भन्ने गरिन्छ । यसदिन साँझपख माटोले बनाइएको नयाँ एवं चोखो चुल्होमा ब्रतालुहरुले आँपको रुखको दाउरा बालेर त्यसमा गुण (भेली) र चामल मिसाएर बनाइएको खीर (रसियाव) र गहुको पिठोबाट बनाइएको रोटीको प्रसाद तयार पार्दछन् ।
चौथीका दिनदेखि उपवास बसेका ब्रतालुहरुले उक्त प्रसाद (रसीयाव र रोटी) चुल्होकै छेउमा अग्नि (आगो) मा चढाएर छठी माताको पूजा आरधान गर्छन् । त्यसपछि प्रसादको केहि अंश गाईलाई खुवाएपछि बाँकी प्रसाद आफूले ग्रहण गरि परिवारका सदस्यलाई खान दिन्छन् ।
रसीयाव र रोटीको प्रसाद ग्रहण गरेपछि ब्रतालुको ३६ घण्टे निराहार र निर्जल उपवास सुरु हुन्छ। छठ कठोर तपस्याको पर्वको हो, भोजपुरी भाषा साहित्यमा नेपालमा पहिलो विद्यावारिधी गरेका डाक्टर विश्वम्भर शर्मा भन्छन्, 'यो पर्व अवधीमा धार्मिक विधिमा थोरै पनि चुक नहोस् भनेर ब्रतालु मात्र नभइ घरपरिवारका सबै सदस्य अत्यन्त सजग हुन्छन्। खानपानदेखि घरको सरसफाइसम्म हरेक स-साना कुरामा पनि निक्कै ध्यान दिने गरिन्छ ।'
खरनाको भोलिपल्ट अर्थात षष्ठी तिथीको दिनलाइ छठ पर्बको मुख्य दिन मानिन्छ । यस दिनलाइ सँझिया घाटे भनिन्छ । त्यसदिन ब्रतालुहरु दिउँसोको समयमा नुहाइ धुवाइ गरि नयाँ चोखो बस्त्र पहिरेर छठ पूजाका लागि नदी, पोखरी,तलाय इत्यादि जलाशयमा तयार पारिएको छठीघाटमा जान्छन् ।
घरपरिवारका सबै सदस्य पनि नुहाइधुवाइ गरि चोखो भइ नयाँ लुगा लगाएर छठीघाटमा पुग्छन् । छठीघाटमा चोखो माटोले बनाइएको पूजास्थल सिरसोता छेउमा बसेर ब्रतालुहरुले छठी माता र सूर्य भगवानसँग जोडिएका पारम्परिक गीत गाउँछन् ।
त्यसपछि साँझपख अस्ताउँदै गरेका सूर्य भगवान र छठी मातालाई ब्रतालुहरुले जलाशयमा पसी बाँसको चोयाबाट बनाइएको सुपली र माटोको ढकनीमा उखु ,काँचो केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ , जटा भएको नरिवल , भिजाएको केराउ , चामलको अछता , पात सहितको मूला लगायतका फलफुल र प्रसाद राखेर अर्घ (पूजा ) दिन्छन् ।
सूर्य अस्तपछि ब्रतालुहरु छठी माताको पारम्परिक गीत गाउँदै आ-आफनो घर फर्किन्छन् । षष्ठीको बेलुकी छठ पूजा गरिएका घरमा कोशी भर्ने (माटोको कलश र हात्ती आकृतिको मूर्तिको पूजा) चलन पनि छ । यो सबै ब्रतालुले गर्दैनन् । जसले भाकल गरेको हुन्छ, उसैले षष्ठीका दिन बेलुकी घरको आँगनमा कोशी भर्ने गर्छन् ।
कोशीका लागि घरको आँगनमा ९ वा १३ वटा हरियो उखु (पातसहितको ) लाई मुठा बनाएर फेदको पातको तल चोखो बस्त्रले बाँधेर उल्टो पिरामिडको आकारमा छठ्याइन्छ । उखुको बीचमा माटोले बनाइएको कलश र हात्तीको आकृतिको मूर्ति राखिन्छ। हरेक उखुको फेदमा माटोको ढकनी राखेर त्यसमा छठीमाताका लागि बनाइएको प्रसाद र फलफूलहरु राखिन्छ ।
यस्तै ती प्रत्येक ढकनीमा माटोको दियो बालेर पनि राखिन्छ । त्यसपछि ब्रतालु र घरपरिवारका साथै छरछिमेकले उखु ठडयाइएको स्थानलाई तीन वा पाच पटक परिक्रमा गर्दै धूप तथा जल अर्पण गर्दै भूँइमा शीर छुवाएर पूजा आरधाना गरिन्छ । त्यसबेला महिलाले छठीमाताको पारम्परिक गीत गाउँदै आशिरवाद माग्छन् ।
षष्ठीको मध्यरातमा परिवारका पुरुष सदस्यहरुले कोशीमा पूजा गरिएको उखु र पूजन सामग्री एंव प्रसाद लिएर छटघाट बनाइएको जलाशय छेउमा लिएर जान्छन् । त्यहाँ पनि आँगनमा गरिएको विधिजस्तै उखुलाई छठयाएर दियो र धूप बाली पूजापाठ गरिन्छ ।
त्यसपछि कोशी (माटोको कलश र हात्ती आकृतिको मूर्त्ति) जलाशयमै डुबाएर उखु र अन्य प्रसाद लिइ उनीहरु घर फर्किएपछि छठको निराहार निर्जल ब्रत लिएका रातिको तेस्रो प्रहरमै ब्रतालुहरु फेरि नुहाइधुवाइ गरि चोखो भइ पुजन सामाग्री र प्रसाद लिएर सूर्य नउदाउँदै छठ घाटमा पुग्छन् ।
सिरसोता वरिपरि बसेर छठी माताको गीत गाउँदै उनीहरु श्रीमान्, छोराछोरी र परिवारका सदस्यको सुस्वास्थ्य, दीर्घायु र प्रगतिका लागि छठी मातासँग अनुनय विनय गर्छन् । सप्तमी तिथीका दिन बिहान सूर्य उदाउनुभन्दा पहिले नै ब्रतालु सुपली र ढकनीमा सजाएर राखिएको प्रसाद, फलफूल लिएर छठघाटको जलाशयमा पस्छन् र सूर्य उदाउने क्रममा उनीहरुले सूर्य र छठीमातालाई अर्घ दिन्छन् ।
सूर्यलाई अर्घ दिएपछि छठघाटमै ब्रतालु महिलाले एक अर्काको नाकको टुप्पादेखि सिउँदोसम्ममा सिन्दुर लगाइ दिन्छन् । त्यसपछि उनीहरु आ-आफ्नो घर फर्किन्छन् । उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवतरुपमा समापन हुन्छ । यस दिनलाई परना भन्ने चलन छ ।
छठ पर्वको पौराणिक कथा
हिन्दु धर्मको पौराणिक कथनअनुसार स्वाम्भुव मनुको प्रियव्रत नाम गरेका छोरा थिए । योगिराज प्रियव्रत विवाह गर्न चाहदैनथे । उनी सदैव तपस्यामा लीन रहन्थे तर ब्रम्हाको आज्ञा तथा करकापले उनी विवाह गर्न बाध्य भए ।
बिहे गरेको निकै वर्ष वितिसक्दा पनि उनलाई सन्तान प्राप्ति नभएपछि कश्यप ऋषिले उनलाई पुत्रेष्टियज्ञ गर्न लगाए । यज्ञपछि कश्यप ऋषिले यज्ञको प्रसाद प्रियव्रती पत्नी मालिनीलाई खान दिए । त्यही प्रसाद खाएपछि मालिनी गर्भवती भइन् ।
गर्भवती भएको १२ वर्ष पछि मात्र मालिनीले स्वर्ण सदृश्य कान्ति भएका, शरीरको सबै अवयवले सम्पन्न तर मृत एंव आँखा उल्टिएको छोरालाई जन्म दिइन् । त्यो देखेर त्यहाँ भएका अन्य महिला रुन थालेपछि पुत्रशोकका कारणले मालिनी मुर्छित भइन् । मालिनीले मृत जन्माएका नवजात शीशुलाई लिएर राजा प्रियव्रतले जङगलमा रहेको शम्शानघाट गए ।
निरकन्टार जङगलमा मृत शिशुलाई आफ्नो छातीमा टाँसेर विलाप गर्दागर्दै गरेका प्रियवत राजाको ज्ञानयोग विस्मृत हुन पुग्यो र उनी प्राण त्याग गर्न पनि तयार भइसकेका थिए । तर, त्यही बेला अकस्मात आकाशबाट एउटा विमान अवतरण भयो जसमा दिव्यरुपधारिणी देवी थिइन् । राजा प्रियवतले ती देवीसित सोधे, 'तपाई को हुनुहुन्छ ? देवीले भनिन्, ‘ हे राजन, म ब्रह्माकी कन्या हुँ, ‘मानसी’, सबैमाथि शासन गर्ने म देवसेनाको नामले प्रसिद्ध छु, विधाताले आफ्नो मनले मेरो सृष्टि गरेर स्वामी कार्तिकेयलाई सुम्पि दिए, मातृकाहरुमा विख्यात म स्वामी कार्तिकेयकी पतिव्रता पत्नी हुँ, भगवती परा–प्रकृतिको षष्ठांश भएको कारणले म विश्वमा षष्ठी नामले प्रसिद्ध छु, म पुत्रहीनलाई पुत्र,पतिलाई प्रिय पत्नी, दरिद्रलाई धन दिने देवी हुँ।'
यति भनेर ती देवीले राजा प्रियवतका मृत शिशुलाई तत्कालै जीवित गरि दिइन् र त्यसपछि ती शीशुलाई लिएर ती देवीले विमानमा सवार भइ आकाशतिर उडने तयारी गर्न थालिन्। यो देखेर राजा प्रियवतको आत्तिए ।
आत्तिएर उनले देवीसँग पुत्र प्राप्तिका लागि याचना गर्न थाले । राजा प्रियवतको याचनाले प्रसन्न भएर देवीले भनिन्, ‘राजन तिमी स्वाम्भुव मनुको छोरा तथा तीनै लोकको राजा हौं, तिमीले सर्वत्र मेरो पूजा गराएर स्वयंले पनि पूजा गरेमा म यस बालक तिमीलाई दिन तयार हुनेछु र यो बालक सुव्रत नामले प्रसिद्ध हुनेछ , यो बालक गुणी तथा विद्वान पनि हुनेछ ।’
राजा प्रियव्रतले देवीको वचन स्वीकार गरे । त्यसपछि ती देवी ती शीशुलाइ राजा प्रियव्रतलाई सुम्पेर विलिन् भइन् । धार्मिक पौराणिक कथन अनुसार त्यसै बेलादेखि छठीमाताको पूजा र पर्व सुरु भएको मानिन्छ ।