२०७८ मंसिर १ गते
काठमाडौं । काठमाडौंको कलंकीमा मंगलबार साँझ पठाओ स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु भयो । कलंकीस्थित खसी बजारमा बसको ठक्करबाट पठाओ राइडर ३५ वर्षीय राम बहादुर आचार्य र पछाडि सवार बाँके घर भएका ५२ वर्षीय यादव कुमार साहको मृत्यु भएको थियो ।
काठमाडौंमा पठाओ दुर्घटनामा राइडर र यात्रुले ज्यान गुमाएको यो पहिलो घटना हो । सो दुर्घटनापछि मृतकका परिवारले पाउने क्षतिपूर्ति र बीमा रकमबारे प्रश्न उठेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरूलाई क्षतिपूर्ति दिनेबारे छलफल भइरहेको नेपालस्थित पठाओको कार्यालयले जनाएको छ ।
राइडर र यात्रु दुवैको बीमा गरिएको जानकारी दिँदै नेपालस्थित पठाओ कार्यालयकी मार्केटिङ मेनेजर सुरक्षा हमालले भनिन्, ‘हामीले ५ लाखको बीमा गरेका छौं, सो रकम मृतकका परिवारलाई दिन्छौं ।’ कम्पनीले दुर्घटनामा घाइते हुनेहरुका लागि १ लाखको बिमा गरेको हमालले बताइन् ।