काठमाडौं । वागमती प्रदेशमा ट्याक्सी भाडा बढेको छ । श्रम रोजगार तथा यातायात मन्त्रालयले सूचना प्रकाशित गरी आउने माघ १ गतेदेखि लागू हुने गरी भाडा समायोजन गरिएको जनाएको हो ।
अब ट्याक्सीको न्यूनतम भाडा ६० रुपैयाँ कायम भएको छ । ट्याक्सी सेवाको पहिलो एक किलोमिटरसम्मको यात्राको शुल्क ६० रुपैयाँ तिर्नुपर्ने छ । त्यसपछि हरेक दुई सय मिटरको यात्रापछि नौ रुपैयाँ ८० पैसाका दरले भाडा थप हुनेछ । सूचनाअनुसार ट्याक्सीहरूले पूणर् रूपमा मिटर प्रयोग गर्नुपर्ने छ । ट्याक्सी प्रयोग गर्ने बित्तिकै सेवाग्राहीलाई ट्याक्सी नम्बर, चालकको नम्बरसहितको विवरण अङ्ग्रेजी र नेपालीमा भएको भिजिटिङ कार्ड दिनुपर्नेछ ।
यस्तै ट्याक्सीमा छुटेको सामान ट्याक्सी सेवा प्रदायकले सुरक्षित राखी नजिककैको प्रहरीलाई जानकारी दिनुपर्ने र ट्याक्सी नियमित सरसफाइ गरी लैङ्गिक विभेदरहित र सेवामैत्री व्यवहार गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
सेवाग्राहीलाई ट्याक्सी प्रयोग गर्ने वित्तिकै सवारी साधनको नम्बर, चालकको फोन नम्बरसहितको विवरण भएको कार्ड उपलब्ध गराउनु पर्ने यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था शाखाका अधिकृत प्रकाश अधिकारीले जानकारी दिए । त्यसो गर्दा ट्याक्सीमा छुटेको सामान पनि सुरक्षित हुनेछ । ट्याक्सीमा छुटेको सामान प्रहरीलाई दिनुपर्ने, ट्याक्सी नियमित रुपमा सरसफाइ गरी लैङ्गिक विभेदरहित व्यवहार गर्नु पर्ने समेत सूचनामा उल्लेख छ ।
ट्याक्सीमा सुरुवाती भाडादर बढाएर समायोजन गरिए पनि ट्याक्सी व्यवसायी भने सन्तुष्ट छैनन् । सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनालले भाडा समायोजन स्वागतयोग्य भए पनि आफूहरुको मागअनुसार हुन नसकेको बताए । ‘सुरुवाती कलमा न्यून रुपैयाँ समायोजन भएको छ,’ उनले भने, ‘मन्त्री ज्युलाई पनि संसोधनको लागि आग्रह गरिसक्यौं ।’ प्रदेशको निणर्यअनुसार नै माघदेखि नयाँ भाडादर लागू गरेपनि भाडादर संसोधनको लागि प्रदेशलाई ताकेता गरिरहने उनले बताए ।
तर, यातायात व्यवस्था शाखाका अधिकृत अधिकारीले सेवाग्राही र सेवा प्रदायक दुवै पक्षलाई मध्यनजर गर्दै भाडादर समायोजन गरिएको बताए । ‘कर्मचारीस्तरले मात्रै निणर्य गर्ने होइन, मन्त्रिस्तरको निणर्य हो,’ उनले भने, ‘हामीले लागू मात्र गर्ने हो ।’ मन्त्रालयले जारी गरेको परिमार्जित भाडादरसँगै ट्याक्सी सेवा प्रदायकले सर्तहरु पनि पालना गर्नु पर्ने उनले बताए । ‘ट्याक्सीको मिटर अद्यावधिक गरी माघदेखि नै परिमार्जित भाडादर लागू गर्नुुपर्नेछ,’ अधिकारीले भने ।
पहिलेदेखि नै फ्लाग डाउन (सुरुवाती कल) विमती रहेको भएपनि यो समायोजनले समेत समाधान गर्न नसकेको उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष पुणर्लाल मोक्तानले बताए । ‘भाडादर समायोजन भयो स्वागत योग्य छ, तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार समायोजन भएन,’ उनले भने ।