२०७८ माघ ३ गते
चितवन । कोरोना संक्रमणको जोखिमलाई मध्यनजार गर्दै यातायात व्यवस्था सेवा कार्यालय चितवनमा अनलाइन टोकन प्रणाली सुरु गरेको छ ।
सेवालाई सहज र कार्यालयमा बढी भिडभाड हुन नदिन कार्यालयले अनलाइन टोकन लागु गरिएको हो ।
अहिले कोभिड सङ्क्रमणको जोखिम बढेसँगै कार्यालयमा सवारी नवीकरणमा अनलाइन टोकन सुरु गरिएको कार्यालय प्रमुख बिनोद पौडेलले जानकारी दिए । त्यस्तै प्रति घण्टामा हाल ३० वटा सवारी र १३ वटा लाइसेन्स नविकरण गर्ने गरी अनलाइन टोकन सुरु गरिएको छ ।
त्यस्तै कोभिड बढेकोले एक पटकमा २५ जना भन्दा बढी भिडभाड नहुने गरी सेवा प्रवाह गर्ने भन्ने २६ गतेको प्रशासनको आदेशपछि अनलाइन टोकन सुरु गरिएका र भिडको कारणले सेवा अवरुद्ध गर्न नपरोस् भनेर टोकन अनिवार्य गरेका उनको भनाइ छ ।
सेवाग्राहीले कार्यालयको वेबसाइटमा chitwanyatayat.bagmati.gov.np मा गएर सजिलै अनलाइन टोकन लिन सकिने तथा वेबसाइटको भेटघाट व्यवस्थापन प्रणालीमा क्लिक गरेर नाम, मोबाइल नम्बर, लिन चाहेको सेवा र सेवा लिने मिति राखेर टोकन लिन सक्ने उनले बताए ।
त्यस्तै लाइसेन्सका लागि यसअघि नै अनलाइन टोकन लागु गरिएको थियो ।
कार्यालयको प्रणालीले एक घण्टामा १५ जनालाई सेवा दिने गरी समय व्यवस्थापन गर्छ। सोही समयमा अनुसार कार्यालय गएर सेवा लिन सक्नेछन्। उनले थपे, “सिस्टमले समय दिन्छ। पहिलो १५ जनालाई १० देखि ११ बजे, दोस्रो १५ जनालाई ११ देखि १२ बजे, यसरी समय दिन्छ, ११ देखि १२ बजेलाई समय दिएको सेवाग्राही अरु समयमा आउनुपर्दैन।” अनलाइन टोकन लिएर आएपछि मात्रै सेवा दिने गरी व्यवस्थापन भइरहेको उनले वताउनुभयो। कार्यालयले मङ्सिर १२ गतेबाट लाइसेन्स नवीकरण सेवा शुरु गरेको थियो। सेवा शुरु भएकोसँगै १३ मंसीरबाट नै अनलाइन टोकन शुरु गरिएको हो।
कार्यालयमा अहिले दैनिक ६० भन्दा बढी लाइसेन्स नवीकरण सेवा बारे परामर्श लिन आउने गरेका छन्। तीमध्ये दैनिक ४० भन्दा बढीले नवीकरण सेवा लिने गरेका छन्। कार्यालयले अहिलेसम्म ६०० भन्दा बढी लाइसेन्स नवीकरण गरिसकेको छ। कार्यालयले पेपरकार्ड र स्मार्ट दुबै लाइसेन्स नवीकरणको सेवा दिइरहेको छ ।