२०७८ माघ ७ गते
काठमाडौं । साउनयता चारपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको नेपाल आयल निगम (एनओसी) यतिखेर निकै आलोचित छ । निगमले आज (बिहीबार) देखि लागू हुनेगरी पेट्रोल/डिजेल/मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ, आन्तरिक हवाइ इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ, अन्तरराष्ट्रिय हवाइ इन्धनमा प्रतिकिलोलिटर १०० अमेरिकी डलर बढाएको हो ।
२०७८ साल वैशाखयता निगमले मूल्य समायोजनका नाममा पेट्रोलियम पदार्थको मूल्य ११ पटक बढाइसकेको छ । वैशाख ४, जेठ २, जेठ २३, असार ९, असार २२, असार ३०, भदौ ७, कात्तिक १२, कात्तिक २५ र माघ ५ गते निगमले मूल्यवृद्धि गरेको हो । वैशाख ४ गते १२१ रुपैयाँ रहेको प्रतिलिटर पेट्रोलको भाउ ११औं पटक बढाउँदा १३९ रुपैयाँ पुगिसकेको छ । त्यतिखेर १०४ रुपैयाँ रहेको डिजेल र मट्टितेलको मूल्य १२२ रुपैयाँ पुगेको छ ।
मूल्य बढाउनुको कारणबारे निगम भन्छ–अन्तरराष्ट्रिय बजारमै कच्चा तेलको मूल्य प्रतिब्यारेल ८९ डलरसम्म पुग्यो, १५ दिनमै दुई अर्ब २४ करोड रुपैयाँ घाटा हुने स्थिति देखियो, इन्डियन आयल कर्पोरेशनले साउनयता १२ पटक नयाँ मूल्य पठाएपनि नेपालमा तीन पटकमात्र मूल्य समायोजन गरियो, यस अवधिमा निगमलाई १९ अर्ब २६ करोड रुपैयाँ घाटा लागिसक्यो, तेल खरिदबापत २३ जनवरीमा भारतलाई तिर्नुपर्ने रकममा दुई अर्ब रुपैयाँ नपुग्ने भयो । बुधबारदेखि मूल्य बढाएपनि अबको १५ दिनभित्र एक अर्ब ८८ करोड रुपैयाँ घाटा हुने स्थिति देखिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।